गण्डकी, १८ जेठः गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त हुनुभएको छ ।
गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गर्नुभएको हो । यसअघि पनि उहाँ आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो ।
दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गर्नुुभएका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस)मा आवद्ध हुनुहुन्छ । उहाँलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त हुनुभएको छ ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) को व्यवस्थाबमोजिम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्ति गर्नुभएको हो ।
शर्मा यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्नुभएको थियो । म्याग्दीको बेनी नगरपालिका–१० का स्थायी बासिन्दा शर्मा विसं २०४८ देखि कानुन व्यवसायमा आवद्ध हुनुहुन्छ । बिएल, बिएडका साथै उहाँले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
म्याग्दीको महेन्द्र माविमा दुई वर्ष प्रधानाध्यापक रहनुभएका उहाँ झण्डै १८ वर्ष म्याग्दी बहुमुखी कलेजमा राजनीतिशास्त्र र बिजनेस ल विषय प्राध्यापन गर्नुभएको थियो । उहाँ म्याग्दी जिल्ला नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।
—