काठमाडौंं, १८ जेठ । नेपालका विश्वचर्चित क्रिकेट स्तार सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिलाउन सरकारले थप पहल गरेको छ ।
सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले आज यस विषयको जानकारी दिनुभएको हो ।
उहाँले भिसा प्रकरणबारे स्पष्ट पार्दै भन्नुभयो, ‘यो विषयमा फेरि थप पदलकदमी भइरहेको छ, हेरौँ के हुन्छ त्यसपछि थाहा होला । ’
उहाँले नेपालको न्याय पद्धतिले निर्दोष सावित गरेको व्यक्तिलाई भिसा दिनु वा नदिनु अमेरिकाकै विषय भएको बताउनुभयो।
सरकारले सन्दीपलाई भिसा दिन आवश्यक पहल गरेपनि भिसा नदिएको विषयमा सरकारले प्रतिक्रिया दिनु राम्रो नहुने पनि उहाँले बताउनुभयो।
‘नेपाल सरकारले पहल र प्रयत्न गर्यो। अमेरिकामा जुन खेल प्रतियोगिता भइरहेको थियो, त्यहाँ जानका लागि पहल गरियो। अमेरिकाले भिसा दिनु, नदिनु उसको आफ्नो कुरा पर्यो,’मन्त्री शर्माले भन्नुभयो ‘नेपाल सरकारको पहलकदमी आफ्नो ठाउँमा छँदैछ। भिसा दियो, दिएन भनेर हामीले उत्तर दिने कुरा रहेन।’
सन्दीपका तर्फबाट दुई पटकसम्म अमेरिकाको भिसाका लागि आवेदन दिएपनि दूतावासले भिसा दिएन।
उमेर पुगेकी युवतिसंग सहमतिको सहबासका सम्बन्धमा परेको मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले उनको निलम्बन फुकुवा गरेको थियो। निलम्बन फुकुवासँगै विश्वकपका लागि सन्दीप टोलीमा फर्कने बाटो खुलेको थियो।
क्यानले विश्वकपका लागि आईसीसीसामु सन्दीपलाई टोलीमा राख्न गरेको आग्रह स्वीकार गरेको थियो।
क्यानले पूर्व घोषित टोलीमा फेरबदल गर्न पाउने मिति २५ मे सम्म सन्दीपलाई पनि समट्दै खेलाडीको नाम बुझाएको थियो।


















