Prakash Adhikari June 1, 2024

निरञ्जन राजवंशी।बीबीसी नेपाली न्यूज
ड्यालस(टेक्सास,संयुक्त राज्यअमेरिका),१९ जेठ ।दीपेन्द्र सिंह ऐरी नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख खेलाडी हुन् भन्नेमा अहिले शङ्का गर्ने कुनै ठाउँ छैन।

तर आइसीसी मेन्स टी २० विश्वकपको अभ्यासका क्रममा उनी पुनः घाइते भएपछि क्रिकेट समर्थकहरू चिन्तामा छन्।

नहोऊन् पनि किन? आइसीसीको विश्व वरीयताको अलराउन्डरको सूचीमा १० औँ स्थानमा उक्लिएका दीपेन्द्र हाल नेपाली टोलीमा उपलब्ध सबैभन्दा भरोसायोग्य खेलाडीका रूपमा उभिने गरेका छन्।

नेपाली टोलीको जित हारमा उनको प्रदर्शन निर्णायक हुने ठानिएको छ।

दीपेन्द्रले रन जोड्ने मात्र होइन, ‘अफ स्पिनरका’ रूपमा स्पिन बलिङमा पनि मुख्य भूमिका निभाउने छन्। अनि टोलीले ‘डेथ ओवर’ मा पनि उनलाई सफल प्रयोग गरिरहेको देखिएको छ।

विश्वकप तयारीको अभ्यासका लागि नेपाली टोली वेस्ट इन्डिज पुगेका बेला उनलाई चोट लागेको हो।

ठिक यस्तै घटना सात महिनाअगाडि काठमाडौंमा भएको टी २० विश्वकप छनोटको बेला पनि भएको थियो।

त्यति बेला पनि प्रतियोगिता सुरु हुनु ठिक अगाडि घुँडामा चोट लाग्दा उनले विश्वकप छनोटका सबै खेल गुमाउन पुगेका थिए।

त्यति बेला उनको अभाव यति खट्किएको थियो की युएई विरुद्धको निर्णायक सेमिफाइनलमा दीपेन्द्रलाई टोलीमा समावेश गरिएको थियो।

यद्यपि सो खेलमा अग्र पङ्क्तिका खेलाडीहरूले यति राम्रो ब्याटिङ गरे की दीपेन्द्र मैदानमा ओर्लिन आवश्यक नै परेन।

त्यति बेला दीपेन्द्र झन्डै १ महिना मैदान बाहिर रहनु परेको थियो।

मुख्य प्रतियोगिता अगाडि दीपेन्द्र पटक पटक घाइते हुँदै आएको देखिन्छ।

२०७४ सालमा भएको आइसीसी विश्वकप क्रिकेट लिग च्याम्पियनसिपमा युएई विरुद्धको महत्त्वपूर्ण खेलको अघिल्लो दिन दीपेन्द्र घाइते भएका थिए।

कसरी लाग्यो चोट?

नेपाल सरकारले ५ करोड रुपैयाँ उपलब्ध गराएपछि नेपाली टोली विश्वकप तयारीका लागि एक महिना अगाडि नै अमेरिका र वेस्ट इन्डिजतर्फ लाग्यो।

वेस्ट इन्डिजमा अभ्यासका क्रममा दीपेन्द्र घाइते हुन पुगे।

नेपाली टोलीका फिजियो विक्रम न्यौपानेले भने, “अभ्यासका बेला उनको बायाँ खुट्टाको एङ्कल ट्विस्ट हुन पुग्यो। त्यसैले अरू खेलमा टोलीले जोखिम मोल्न नचाहेर आराम गर्न दिइएको हो।”

समर्थकहरूको मनमा चिन्ता किन बढेको थियो भने त्यसपछि वेस्ट इन्डिज तथा अमेरिकामा ह्युस्टन हरिकेन्स विरुद्धको दुवै खेल र विश्वकपको आधिकारिक ‘वार्मअप अप’ म्याचको रूपमा रहेको क्यानडा विरुद्धको खेलमा दीपेन्द्र मैदानमा देखिएनन्।

दीपेन्द्रको अनुपस्थितिमा खेलिएको उक्त ‘वार्मअप अप’ म्याचमा नेपाल क्यानडासँग ६३ रनले पराजित हुन पुगेको थियो।

उक्त खेलमा नेपाली समग्र ब्याटिङ नै कमजोर देखिएको थियो। टोलीको लागि यो चिन्ताको विषय हुने नै भयो।

सुधार

अमेरिका विरुद्धको दोस्रो ‘वार्मअप अप’ म्याचका लागि दीपेन्द्रलाई तयार गरियो।

त्यसको अघिल्लो दिन नै उनी ‘नेट प्राक्टिस’ मा उपस्थित भएका थिए। नेटमा उनी सहज देखिएका थिए।

तर भारी वर्षाका कारण ड्यालस स्थित ग्रान्ड प्रेरी रङ्गशालामा एक बल फ्याल्न नपाई खेल रद्द भयो। जसले गर्दा दीपेन्द्रको चोटको स्थिति र उनको फर्मको जाँच हुन पाएन।

उक्त म्याच रद्द हुनुले नेपाललाई दोहोरो घाटा लागेको थियो। किनकि दीपेन्द्रको अवस्था मात्र होइन, नेपालले विश्वकप अगाडि पाएको उक्त अन्तिम ‘वार्मअप अप म्याच’ त्यही रङ्गशालामा थियो, जहाँ नेपालले द नेदरल्यान्ड्सको सामना गर्दैछ।

‘वार्मअप अप म्याच’ रद्द भएपछि नेपाली टोली अभ्यासको लागि मस्ताङ इन्डोर क्रिकेट एकेडेमीमा अभ्यास गर्न पुगेका थियो।

फिजियो न्यौपानेका अनुसार दीपेन्द्रको चोट ठिक भइसकेको छ। प्लेइङ ११ मै खेल्न सक्षम भइसकेका छन्।

नेपालको पहिलो खेल आगामी जुन ४ मा द नेदरल्यान्ड्सविरुद्ध छ।

पछिल्लो अभ्यास खेलहरू गुमाएका दीपेन्द्रको परीक्षा अब सिधै मैदानमा हुने सम्भावना छ।

Share Now