Prakash Adhikari June 2, 2024

ड्याल्लास(टेक्सास,संयुक्त राज्य अमेरिका), २० जेठ । आजदेखि आईसीसी पुरुष टी २० विश्वकप सुरु भएको छ । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको ड्याल्लासस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिका र क्यानडा भिड्दै छन् ।

खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। क्यानडाले ब्याटिङ सुरु गरेको छ ।

क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन् । अमेरिका आयोजक हुँदा सिधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो ।

अमेरिकाले ह्युस्टनमा भएको अभ्यास खेलमा बंगलादेशविरुद्ध तीन टी–२० आई खेलको सिरिज २–१ ले जितेको थियो ।

क्यानडाले ग्राण्ड प्रेरी मैदानमै सम्पन्न वार्मअप खेलमा नेपाललाई ६३ रनले हराएको थियो । सोही मैदानमा अमेरिका र नेपालबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो ।

नेपालले भने मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह डी मा रहेको नेपालले समूह चरणमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससंग खेल्ने छ ।

आईसीसी पुरुष टी २० विश्वकप २०२४ को समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् ।

समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् । समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान र युगाण्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

Share Now