Prakash Adhikari June 3, 2024

केपटाउन(दक्षिण अफ्रिका ), २० जेठ (रासस/एपी) ।दक्षिण अफ्रिकाको अफ्रिकी नेसनल कांग्रेस (एएनसी) पार्टीले सम्भावित गठबन्धन साझेदारहरूबाट राष्ट्रपति सिरिल रामाफोसाले राजीनामा दिनुपर्ने मागलाई विचार नगर्ने एक शीर्ष अधिकारीले आइतबार बताएका छन् ।

चुनावी नतिजाले आफ्नो ३० वर्षको बहुमत अन्त्य भएपछि एएनसीले संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयास गरेको थियो ।

पहिलो पटक राष्ट्रिय गठबन्धन सरकार बनाउन र स्थिरता स्थापित गर्न दक्षिण अफ्रिका जटिल वार्ताको शृङ्खलातर्फ अघि बढेको छ । एएनसीका महासचिव फिकिले मबालुलाले रामाफोसा पार्टीको नेताका रूपमा रहने र वार्तालाई अगाडि बढाउन उहाँले राजीनामा दिनुपर्ने अन्यको माग ‘अस्वीकार्य’ भएको बताउनुभयो ।

“राष्ट्रपति रामाफोसा एएनसीको अध्यक्ष हुनुहुन्छ, यदि तपाईं उहाँले राष्ट्रपति पदबाट राजीनामा दिनुपर्छ भनेर माग लिएर आउनुभयो भने त्यो हुनेवाला छैन”, उहाँले ऐतिहासिक निर्वाचन परिणामपछि भन्नुभयो ।

एएनसी सरकार बनाउने प्रयासमा अन्य राजनीतिक दलसँग वार्ता गर्न खुला रहेको भन्दै उहाँले तर कुनै पनि राजनीतिक दलले एएनसीका लागि शर्त निर्धारण गर्न नपाउने बताउनुभयो ।

सन् १९९४ मा रङ्गभेदको अन्त्यपछि दक्षिण अफ्रिकी राजनीतिमा प्रभुत्व जमाउँदै आएको एएनसीले निर्वाचनमा ‘ठूलो क्षति’ बेहोर्नुपरेको मबालुलाले स्वीकार गर्नुभयो । तर उहाँले एएनसी राजनीतिबाट ‘बाहिर नभएको’ बताउनुभयो ।

एएनसीलाई ४० प्रतिशतमात्र मत प्राप्त भएको छ । यो पूरै दक्षिण अफ्रिकाको युवा लोकतन्त्रका लागि भएको बहुमतको तुलनामा धेरै कम हो । यो अझै पनि कुनै न कुनै रूपमा सबैभन्दा ठूलो पार्टी हुनेछ ।

तर उसलाई सरकार बनाउन र रामाफोसालाई दोस्रो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचित गर्न अन्यसँग वार्ता गर्न आवश्यक छ । दक्षिण अफ्रिकाको राष्ट्रपति राष्ट्रिय निर्वाचनपछि संसद्द्वारा निर्वाचित हुन्छ ।

पूर्वराष्ट्रपति ज्याकब जुमाको नयाँ एमके पार्टीले एएनसीसँगको कुनै पनि गठबन्धन वार्तामा सहभागी हुनका लागि रामाफोसाले एएनसी र मुलुकको नेताका रूपमा बाहिरिनुपर्ने बताएको छ । उक्त पार्टीले निर्वाचनमा आश्चर्यजनकरूमा १४ प्रतिशत जित हासिल गरेको छ र तेस्रो ठूलो पार्टी बनेको छ ।

एएनसीसँग मुलुकका अन्य पार्टीबीच गठबन्धन साझेदारका लागि धेरै विकल्प छन् । यसमा २१ प्रतिशत मत हासिल गरेको प्रमुख प्रतिपक्षी डेमोक्रेटिक गठबन्धन पनि रहेको छ ।

Share Now