काठमाडौं, ३ जेठ । न्यूरोडमा सडकपेटी विस्तार गर्ने नगर सरकारको काममा संघीय सरकार मातहतका भौतिक योजना तथा यातायात मन्त्रालय र सडक विभाग सहयोगी नबनेपछि क्रुद्ध हुनुभएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेका अध्यक्ष के.पी.ओली विरुद्ध फायर खोल्नुभएको छ।
मेयर बालेनले पहिले पनि सडकपेटी विस्तारमा सडक विभाग र मन्त्रालय सहयोगी नभएपछि सडक विभाग र मातहतका कार्यालयका गेटमा एकएक ट्रक धुलो खलाल्न लगाउनुभएको थियो । राजधानीका नगरपिताको उक्त सांकेतिक विरोधलाई लिएर एमाले अध्यक्ष ओलीले छिमेकमा फोहर थुपार्नु कुनै बहादुरीयुक्त र सभ्य नागरिकलाई शोभा दिने काम नभएको टिप्पणी गर्नुभएको थियो ।
न्यूरोडमा सडकसम्बन्धी ऐन र नियम तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरुप सडकपेटी फराकिलो बनाएर गाडी गुड्ने चौडाई घटाउने मेयर बालेनको कदमलाई विभागीय मन्त्रालय र सडक विभागले साथ नदिएर सडक पेटी विस्तारको लागि खनिएको पिट विभागले टाल्न थालेपछि बालेको यस्तो प्रतिक्रिया आएको हो ।
नगरपिता बालेनले झापाको गिरीबन्धु चियाबगानले हदबन्दी छुट पाएको जग्गा बिक्रीसम्बन्धी नीतिगत घोटालामा नेकपा एमालेका अध्यक्ष केपी ओलीको हात गंभीर आरोप लगाउदै भन्नुभएको छ, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुहोला माननीय केपी ओलीज्यू ।झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनुभएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’
मेयर बालेनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन र जनतालाई भुलाउन ओलीले राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा आफूहरूले बनाउन लागेको फुटपाथलाई फेरि सडक बनाउन लगाएको पनि आरोप लगाउनुभएको छ।
‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन विषयान्तर गरे पनि काम हुनु राम्रो हो,’ उहाँले भन्नुभएको छ, ‘तपाईंको शक्तिले अब रिङरोड बनाउनू, बुटवल(चितवनमा बाटो बनाउनू। यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ।’
उहाँले समयमै गिरीबन्धुमा पीडित भएकाहरूको बैना फिर्ता गर्न पनि एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको छ।
‘नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला,’ मेयर बालेनले ओलीलाई लक्षित गर्दै भन्नुभएको छ, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो ’