न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २२ जेठ । आइसीसी टी २० विश्वकप २०२४ अन्तरगत नेपाल रहेको समूह डीका दक्षिण अफ्रिका र श्रीलंकाबीच भएको खेल दक्षिण अफ्रिको पक्षमा गएको छ ।
अमेरिकाको न्यूयोर्कमा भएको खेलमा श्रीलंकामाथि ६ विकेटको जित दर्ता गर्दै दक्षिण अफ्रिकाले सुखद सुरुवात गरेको छ ।
ब्याटिङका लागि केही असहज रहेको पिचमा खेलाईएको खेलमा श्रीलंकाले दिएको ७८ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेटको क्षतिमा ८० रन जोड्दै हासिल गरेको थियो । अप्ठ्यारो पिचका कारण ७८ रनको झिनो लक्ष्य हासिल गर्न पनि दक्षिण अफ्रिकालाई पनि कठिनाई भएको थियो ।
दक्षिण अफ्रिकाको जितमा क्विन्टन डी ककले २० रन, हेनरीक क्लासेन १९ रन, ट्रिस्टन स्टब्सले १३ रन, कप्तान एइडन मारक्रमले १२ रन, डेभिड मिलरले ६ र रिड ह्यान्ड्रिकले ४ रनको योगदान दिए ।
दक्षिण अफ्रिकालाई रोक्ने क्रममा श्रीलंकाका लागि वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले १। १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले १९.१ ओभरमा ७७ रनमा अल आउट थियो । श्रीलंकाका लागि कुशल मेण्डिसले ३० बल खेल्दै सर्वाधिक १९ रन बनाए । एन्जेलो म्याथ्युजले १६ तथा कामिन्दु मेण्डिसले ११ रन, दासुन सनकाले ९ रन,महेश थिक्सनाले ७ र चरित अशलंकाले ६ रन जोडे । क्याप्टेन वानिन्दु हसरंगा, सादिरा समराविक्रम,मथिसा पाथिराना र नुवान थुशरा खाता नखोली आउट भए ।
श्रीलंकालाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका एनरिक नोर्टजे एक्लैले ४ विकेट लिए । केशव महाराज र कागिशो रबाडाले २ २ विकेट लिँदा १ विकेट ओटनिल बार्टमनको नाममा रह्यो ।
दक्षिण अफ्रिका र श्रीलंका बाहेक यस समूहमा नेपाल, नेदरल्याण्ड्स र बंगलादेश रहेका छन् । नेपाल र नेदरल्याण्ड्सबीच मंगलबार बेलुका डल्लासमा प्रतिस्पर्धा हुने भएको छ । नेपाल १० वर्षपछि टी २० विश्वकपमा पुनरागमन गरेको हो।


















