काठमाडौं, २२ जेठ । ४० बर्षको उमेर कटेका महिलाहरु कुनै पनि समय रजोनिवृत्त हुन सक्दछन् । रजोनिवृति एक्कासी हुँदैन । रजस्वला पूर्णतः बन्द हुनु अगाडि यसले केही अस्वभाविक शारीरिक लक्षणहरु देखाउछ ।
सामान्यतः महिनाबारी अनियमित हुने, शरीरमा पसिना बढी आउने, चिट्चिटाहट हुने , झनक्क रिस उठ्ने, सामान्यतः हाँस खेल र ठट्टामा मन नलाग्ने लगायतका लक्षणहरु देखा पर्दछन् । यस्ता असामान्य क्रियाकलापबाट रजोनिवृत हुन लागेकी महिलालाई शारीरिक र मानसिक कष्ट हुनु त छँदैछ , आफूलाई के भईरहेको छ भन्ने जानकारी नहुँदा र परिवार सदस्यहरुलाई यसबारे जानकारी पनि नगराउदा परिवारमा पनि असझदारी बढ्ने, पतिपत्नीबीचमा झगडा भएर डिभोर्ससम्म हुनपुग्ने घट्ना समेत हुन सक्दछन् ।
संसारको आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाहरुमा चालिसे उमेरमा देखा पर्ने यो शारीरिक समस्याको बारेमा खुला बहसको थालनी गर्न यस क्षेत्रका अनुभवी र विज्ञहरुले नेपाली महिलाहरुलाई अनुरोध गरेका छन् ।
सोमबार राजधानीमा अष्ट्रेलियन राजदूतावासले आयोजना गरेको एक सामूहिक छलफलका वक्ताहरुले यो कुनै रोग नभई हरेक महिलामा ४० को उमेर लागेपछि देखा पर्ने शारीरिक समस्या भएको र यसलाई आत्मसंयम, परिवारको साथसहयोग र साथीसंगिनीको सरसहयोगबाट व्यवस्थापन गर्न सकिने विचार व्यक्त गरे ।
कार्यक्रममा सुप्रसिद्ध गायिका आनी छोइड. डोल्माले आफू पनि यो समयबाट गुज्रिएको जानकारी दिंदै यस समयमा आउने शारीरिक कष्ट र मानसिक तनावलाई योगाको माध्यमबाट कम गरेको, आर्युवेदिक औषधीको सेवनबाट कम गरेको र यस समस्याका बारेमा परिवारका सदस्य र साथीसंगिनीहरुलाई जानकारी गराएर यस्तो अवधिमा उनीहरुसंग हाँसखेल, घुमफिर, भोजभतेर ,नाचगान र उत्सवहरुबाट परै रहेर आफूले यसको व्यवस्थापन गरेको अनुभव सुनाउनुभयो ।
रजोनिवृत भइसेकेपछि विना अक्सिजन विश्वका १४ वटा ८ हजारमाथिका हिमाल आरोहण गर्ने घोषणासहित वसन्त ऋतुमा नेपाल आएर नेपालको अन्नपूर्णा हिमालको सफल आरोहण गरिसक्नुभएकी अष्ट्रेलियन महिला एली पिपरले पनि आफ्नो अनुभव सुनाउनु भएको थियो । उहाँले आफू रजोनिवृतिको समयबाट गुज्रदा पिताको देहावसान भएको, परिवारमा असझदारी बढेर पतिसंग सम्बन्ध विच्छेद भएको र धेरै समस्याले एकैसाथ सताएको कटु अनुभव सुनाउनु भयो ।
रजोनिवृतिका शारीरिक कष्ट र मानसिक तनावलाई व्यवस्थापन गर्न आफूले औषधी सेवन गरेको उहाँको कथन थियो । त्यस्ता औषधीहरु अष्ट्रेलियामा सहजै पाइने भए पनि नेपालमा आफूले नपाएको उहाँको गुनासो थियो । रजोनिवृति पछि पनि महिलाहरु शारीरिक रुपमा उत्तिकै सबल हुन्छन भन्ने आफूलाई लागेको र विना अक्सिजन विश्वका सबै ८ हजार मिटरमाथिका हिमाल आरोहण गर्ने घोषणा गरेको उहाँले बताउनुभयो ।
अन्तर्राष्ट्रिय विकासका रणनीतिकार एवम् विभिन्न देशमा महिला स्वास्थ्यका बारेमा काम गर्नुभएका डा.सुनार बर्माले रजोनिवृति हरेक महिला आफ्नो जीवनकालमा एकपटक गुज्रनै पर्ने जीवनचक्रको एक चरण भएकोले यसका बारेमा खुलेर बहस गर्न आवश्यक भएको बताउनुभयो । विश्वलाई समृद्ध बनाउनु छ भने बालिका र महिलाको शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्दछ भन्दै उहाँले महिलाका समस्यालाई केन्द्रमा राखेर समाधान खोज्दा त्यसले अधिक प्रतिफल दिने पनि बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले महिला स्वास्थ्यको क्षेत्रमा पनि कम ध्यान पुगेको रजोनिवृतिका सम्बन्धमा जनचेतना फैलाउन सके धेरै नेपाली महिलाहरुले शारीरिक र मानसिक समस्याबाट उन्मुक्ति पाउने बताउनुभयो । उहाँले महिलाहरुलाई आफ्ना अनुभव भन्न, एकापसमा साझेदारी गर्न र आफूलाई परेका समस्या अरुलाई सुनाएर उपचार र समस्या समाधानका उपाय पहिल्याउन अभिप्रेरित गर्न अत्यन्त जरुरी रहेको बताउनुभयो ।
महिलाहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण त्रिभुवन विश्वविद्यालयकी समाजशास्त्र विषयकी लेक्चर नीति अर्याल खनालले गर्नुभएको थियो ।