Prakash Adhikari June 6, 2024

नयाँदिल्ली(भारत), २४ जेठ (बीबीसी) । राहुल गान्धी भारतको मुख्य विपक्षी दलका नेता मात्र होइन, त्यहाँको चर्चित राजनीतिक परिवारका सदस्य पनि हुनुहुन्छ।

उहाँ दशकौँसम्म भारतीय राजनीतिमा प्रभाव जमाएको नेहरूगान्धी परिवारका राजनीतिक उत्तराधिकारी हुनुहुन्छ।

राहुल पहिलो पटक सन् २००४ मा संसदीय निर्वाचनमा उठ्नुभएको थियो।

त्यस वर्ष उहाँले भारतको तल्लो सदन लोकसभा सदस्यका रूपमा उत्तरप्रदेश राज्यको अमेठीबाट चुनाव जित्नुभयो। तर आफ्नो दललाई चुनाव जिताउन विफल हुनुभयो।

यसपालिको निर्वाचनमा भने गान्धी र उहाँको पार्टी संलग्न गठबन्धनले भाजपालाई एक्लै बहुमत पुर्‍याउन रोकेको छ।

अमेठीमा सन् २०१९ मा राहुल प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)की उम्मेदवार स्मृति इरानीसँग पराजित हुनुभएको थियो।

उत्तर प्रदेशमा भाजपालाई खुम्च्याउन क्षेत्रीय दल समाजवादी पार्टीका नेता अखिलेश यादव र काङ्ग्रेसका राहुल गान्धीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ठानिन्छ। यादवको दलले उत्तर प्रदेशमा ८० मध्ये ३७ सीट जितेको छ भने काङ्ग्रेसले छ सीट जितेको छ।

राहुल गान्धी अहिलेसम्म मन्त्री बन्नुभएको छैन। उहाँ ५४ वर्ष पुग्नुभयो ।

राजनीतिक पृष्ठभूमिका कारण अहिले पनि गान्धी विपक्षका प्रमुख राजनीतिक व्यक्ति हुनुहुन्छ।

प्रारम्भिक जीवन
सन् १९७० जुन १९ मा जन्मिनुभएका राहुल गान्धीले भारतका उत्कृष्ट स्कूलहरूबाट शिक्षा प्राप्त गरेर अमेरिका पुगी उच्च शिक्षा लिनुभएको थियो।

सन् २००२ मा मुम्बई फर्किएर काम सुरु गर्नुअघि उहाँले लन्डनमा काम गर्नुभयो।

राहुललाई सधैँ अन्तर्मुखी र राजनीतिमा खासै चासो नभएका व्यक्तिका रूपमा हेरिन्थ्यो।

उहाँको साटो दिदी प्रियङ्कालाई परिवारको राजनीतिक बिँडो थाप्ने व्यक्तिका रूपमा हेर्ने गरिन्थ्यो।

सन् २००४ को निर्वाचनअघि राजनीतिमा प्रवेश गर्ने उहाँको घोषणाले धेरैलाई आश्चर्यमा पारेको थियो।

राहुल लज्जालु स्वभावका हुनुहुन्थ्यो। उहाँको चाख राजनीतिभन्दा पनि क्रिकेट र अन्य क्रियाकलापमा रहेको ठानिन्थ्यो।

विरासतमा राजनीति

राहुलका जिजुबुवा जवाहरलाल नेहरू स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकी हजुरआमा इन्दिरा गान्धी र बुवा राजीव गान्धी पनि भारतका प्रधानमन्त्री बन्नुभयो।

राहुलकी हजुरआामा र बुवा दुवैको सात वर्षको अन्तरालमा हत्या भएको थियो।

सन् २००७ को सेप्टेम्बरमा उहाँलाई काङ्ग्रेस पार्टीको महासचिव बनाइयो। त्यस बेला इटलीमा जन्मिएकी उहाँकी आमा सोनिया गान्धी उक्त दलकी अध्यक्ष हुनुहुन्थ्यो।

स्वास्थ्यका कारणले आफ्नो छोरालाई कार्यभार हस्तान्तरण गर्नुपर्ने अवस्थामा नपुग्दासम्म सोनिया गान्धी उक्त दलकी प्रमुख रहनुभयो।

सन् २०१३ मा राहुल गान्धी काङ्ग्रेस पार्टीको उपाध्यक्ष बन्नुभयो।

नेहरू(गान्धी परिवारको नेतृत्वमा काङ्ग्रेस पार्टीले भारतमा पाँच दशकभन्दा बढी समय शासन गरेको छ। उक्त दलको प्रभुत्व सन् २०१४ मा भाजपाले हराएर सत्ता आफ्नो हातमा लिएपछि मात्र सकिएको हो।

भारतका प्रधानमन्त्री मोदीले गान्धीलाई वंशवादी राजनीति गरेको आरोप लगाउनुहुन्छ र राहुललाई प्रायः ुशाहजादाु भनेर कटाक्ष गर्नुहुन्छ।

खिसीटिउरी

सन् २०१४ पछि गान्धी पार्टीका धेरै गतिविधिमा उपस्थित हुन र काङ्ग्रेसको नेताका रूपमा चिनिन थाल्नुभयो।

सन् २०१७ मा राहुल आधिकारिक रूपमा काङ्ग्रेस पार्टीको अध्यक्ष बन्नुभयो।

सन् २०१४ मा काङ्ग्रेस इतिहासकै सबैभन्दा लज्जास्पद हार बेहोर्दै ५४३ सीटको लोकसभामा ४४ सीमित हुँदा उहाँलाई भाजपाले निकै खिसीटिउरी गर्‍यो।

उहाँलाई सामाजिक सञ्जालमा ुट्रोलु गर्नेहरूले ूपप्पुू भनेर सम्बोधन गर्न थाले।

हिन्दी भाषामा सानो बालकलाई हेपेर ूपप्पुू भन्ने सम्बोधन गर्ने गरिन्छ वा त्यसको अर्थ मूर्ख व्यक्ति भन्ने पनि हुन सक्छ।

खस्किँदो अवस्था
काङ्ग्रेसका लागि सन् २०१४ र २०१९ का निर्वाचनको परिणाम दुःखद रह्यो। सन् २०१९ मा काङ्ग्रेस केवल ५२ सीटमा मात्र विजयी भयो।

गान्धीले उक्त हारका लागि जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभयो।

गान्धी परिवारको पुरानो क्षेत्र उत्तर प्रदेशको अमेठीबाट उहाँ आफैँ पनि पराजित हुनुभयो। तर भारतको कानुनअनुसार एकै उम्मेदवारले दुई क्षेत्रबाट चुनाव लड्न पाउने भएकाले उहाँले दक्षिणी राज्य केरलाबाट जितेर सांसद बन्नुभयो ।

गान्धी अहिले आधिकारिक रूपमा कांग्रेसको शीर्ष नेतृत्वमा हुनुहुन्न। तर पनि उहाँ यो निर्वाचनमा धेरै खट्नु भयो।

यस पटक पनि उहाँ केरलाको वायानड र उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्रबाट चुनाव लड्नुभएको थियो र दुवै क्षेत्रमा उनी निर्वाचित हुनुभयो।

यस वर्षको संसदीय निर्वाचन अभियानका क्रममा उहाँले कडा भाषणहरू गर्नुभयो, र्‍यालीहरूमा सहभागी बन्नुभयो र पार्टीका समर्थक एवं कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गर्नुभयो।

गान्धी यो बीचमा अन्य देशहरूमा पनि पुगेर त्यहाँका प्रतिष्ठित विश्वविद्यालयहरूमा मन्तव्य दिनुभयो। विभिन्न देशहरूमा रहेका भारतीय समुदायसँग भेटघाटका लागि उहाँले कैयौँ पटक यात्रा गर्नुभयो।

यात्रा

गान्धीले सन् २०२४ को जनवरीमा भारतभरिको ६ हजार ७ सय किलोमिटर लामो ूभारत जोडो न्याययात्राू सुरु गर्नुभयो। पूर्वोत्तर भारतको मणिपुर राज्यको राजधानी इम्फालबाट सुरु भएको उक्त यात्रा मुम्बईमा पुगेर अन्त्य भएको थियो।

गान्धीले एक वर्षअघि उस्तै प्रकृतिको ूभारत जोडोू यात्रा गर्नुभयो। ४ हजार किलोमिटर लामो उक्त यात्रा उहाँले भारतको सबैभन्दा दक्षिणी क्षेत्र कन्याकुमारीबाट सुरु गरेर सबैभन्दा उत्तरी क्षेत्र कश्मीर पुर्‍याएर टुङ्ग्याउनुभएको थियो।

केही विश्लेषक र समर्थकहरू उक्त यात्राले पार्टीलाई नयाँ जीवन दिएको र गान्धीको छवि पनि सुधार गरेको ठान्छन्।

तर विश्लेषकहरू त्यो यात्राले धेरै मतदातालाई प्रभावित पार्ने र उक्त दलले धेरै सीट जित्नेमा विश्वस्त हुन सकेका थिएनन्।

जेल हुने फैसला

गत वर्ष गान्धीलाई मानहानिसम्बन्धी एउटा मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो।

उहाँलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर चुनावी र्‍यालीमा दिएको प्रतिक्रियाका सन्दर्भमा दोषी ठहर गर्दै त्यस्तो सजाय सुनाएको थियो।

आफूमाथि लगाइएको उक्त आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको गान्धीको दाबी छ। त्यसलाई चुनावअघि योजनाबद्ध रूपमा अघि बढाइएको उहाँ बताउनुहुन्छ।

सरकारले भने त्यसलाई अस्वीकार गर्दै आएको छ। हाल उहाँलाई दिइएको सजाय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाइदिएको छ।

Share Now