Prakash Adhikari June 10, 2024

 

काठमाडौं, २८ जेठ । आईसीसी टी २० विश्वकप २०२४ अन्तरगत समूह ए अन्तरगत आइतबार सम्पन्न खेलमा भारतले चिर प्रतिद्वन्दी पाकिस्तान माथि आइसीसी प्रतियोगितामा सफल रेकर्ड कायम राखेको छ ।

भारतले पाकिस्तान माथि ६ रनको जित निकाल्दै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा ठेस पुर्याएको छ ।

पहिलो खेलमा अमेरिका विरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ । भारतले सबै खेल जितेको खण्डमा अमेरिकाको आयरल्याण्ड विरुद्धको हारले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जिवितै राख्ने छ ।

हार पछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्युन बनेको छ । आजको जित पछि भारतको २ खेलमा ४ अंक भएको छ । अमेरिकाको पनि २ खेलमा ४ अंक छ । क्यानाडाको २ खेलमा २ अंक रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शुन्य अंकमा छन् ।

न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । इमाद वासिमले १५ रन बनाए भने बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए । खेलमा इफ्तिखर अहमदले ५, साहिब खानले ४ रन बनाए भने नसिम साह १० रन र साहिन साह अफ्रिदी शून्य रनमा नट आउट रहे ।

पाकिस्तानलाई रोक्न भारतका जस्प्रित बुम्राहले ३ तथा हार्दिक पन्ड्याले २ विकेट लिए । अर्श्दिप सिंह र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै १ सय १९ रन जोडेको थियो । भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रन, अक्षर पटेलले २० तथा कप्तान रोहित शर्माले १३ रन बनाए । अर्शदीप सिंहले ९, सूर्यकुमार यादव, मोहम्मद सिराज र हार्दिक पाण्डेयले ७ । ७, कप्तान रोहित शर्माले ४, शभम् दुवेले ३ रन जोडे भने रभिन्द्र जडेजा र जस्प्रित बुम्राहले खाता खोल्न सकेनन् ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले ३(३ विकेट लिएका थिए भने मोहम्मद आमिरले २ विकेट लिए । १ विकेट शाहिन शाह अफ्रिदीको नाममा रह्यो ।

Share Now