काठमाडौं, ३० जेठ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई नेशनल रत्नबाट सम्मान गरेको छ ।
नेशनल रत्न बिजेताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बुढानिलकण्ठ काठमाण्डौको होटल लेमन ट्रि प्रिमियरमा सम्मानित गर्नुभएको हो ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको सो समारोहमा सहभागी अभिकर्ताहरुलाई कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले उत्प्रेरणा तालिम प्रदान गर्नुभएको थियो । उहाँले कम्पनीले अभिकर्ताहरुको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टाछुट्टै महत्व हुने भएकोले यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्यनीति बनाउनु पर्ने उल्लेख गर्नुभयो ।
समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा लगाएर सम्मान गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले मन्तव्यका क्रममा कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गईरहेको बताउनु भयो ।
उहाँले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान गर्दै लाने कम्पनीको योजना अनुसार काठमाडौंमा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउनु भयो । उहाँले यसभन्दा अगाडि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसेकेको र अन्य प्रदेशका उत्कृष्ट अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत सहित उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेल, प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणा, बागमती प्रदेश प्रमुख द्धय जयराम धिताल, घनश्याम रिमाल लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।


















