काडमाडौं, ३० जेठ। आईसीसी पुरुष विश्वकप क्रिकेट २०२४ को समूह ‘डी’बाट दोस्रो चरणको सुपर ८ नेपाल पनि पुग्ने संभावना जीवित रहेको छ ।
समूह डी बाट सुपर ९ मा जाने एउटा टोली र बाहिरिने एउटा टोलीको छिनोफानो भइसकेको छ। समूह डीबाट ३ खेल खेलिसकेको दक्षिण अफ्रिका एक खेल बाँकी छँदै ६ अंकसहित दोस्रो चरणमा पुग्ने निश्चित भइसकेको छ भने तीन खेलमा २ हार र १ मा अंक बाँडेको श्रीलंका १ खेल बाँकी छँदै समूह चरणबाटै बाहिरिइसकेको छ।
नेपाल रहेको समूहमा दक्षिण अफ्रिका सुपर ८ पुगिसकेकोले अब बाँकी एउटा स्थानको लागि बंगलादेश, नेपाल र नेदरल्याण्ड्स प्रतिस्पर्धामा छन्।
नेपालले अब नेपाली समयअनुसार शनिबार बिहान (स्थानीय समय शुक्रबार बेलुका) दक्षिण अफ्रिकासँग खेल्नेछ। सेन्ट भिन्सेन्टको राजधानी किंग्सटाउनमा हुने यो खेल वर्षाले प्रभावित हुने सम्भावना न्यून छ। मौसम पूर्वानुमानअनुसार किंग्सटाउनका शुक्रबार पानी पर्ने सम्भावना ३ प्रतिशत मात्र छ र शनिबार १ प्रतिशत मात्र छ।
सुपर ८ मा जाने सम्भावना कायमै राख्न नेपालले यो खेल जित्नैपर्ने हुन्छ। यो खेल जितेमा नेपालको सुपर ८ जाने सम्भावना कायमै रहनेछ।
नेपालले अर्को खेल बंगलादेशसँग नेपाली समयअनुसार सोमबार बिहान (स्थानीय समयअनुसार आइतबार बेलुका) किंग्सटाउनमै खेल्नेछ। सहजै सुपर ८ पुग्ने सम्भावना कायमै राख्न नेपालले यो खेल पनि जित्नैपर्ने हुन्छ। यो खेल वर्षाले प्रभावित हुन सक्छ किनभने किंग्सटाउनमा आइतबार वर्षाको सम्भावना ४० प्रतिशत र सोमबार ५८ प्रतिशत रहेको पूर्वानुमान गरिएको छ।
दुवै खेल जितेको अवस्थामा पनि नेपाल सुपर ८ पुग्न नेदरल्याण्डले आफ्नो बाँकी २ खेलमध्ये एउटा हार्नैपर्छ। नेदरल्याण्डले बंगलादेश र श्रीलंकासंग खेल्न बाँकी छ । दुवै खेल जित्यो भने उसले ६ अंक हासिल गर्छ । एकमा जित एकमा हार भए उसको ४ अंक हुने छ । एकमा जित र एकमा अंक बाँडिए, उसको अंक ५ हुने छ।
समूहमा बंगलादेशले २ खेल खेल्न बाँकी छ । उसले दुवै खेल हारेमा नेपालको बाटो सहज हुने छ। एक जित र एक हार भएमा उसको ४ अंक पुग्ने छ । एक जित र एकमा अंक बाँडेमा ५ अंक पुग्ने छ ।
यसबाहेक नेपालले आफ्नो नेट रनरेट बंगलादेशको भन्दा माथि लैजान दक्षिण अफ्रिकालाई पनि निकै ठूलो अन्तरले हराउनुपर्नेछ। यतिले मात्रै नेपालको नेट रनरेट नेदरल्याण्डको भन्दा माथि पुग्दैन। यसको लागि अर्को प्रमुख शर्त नेदरल्याण्डले श्रीलंकासँग ठूलो अन्तरले हार्नुपर्नेछ ताकि उसको नेट रनरेट माइनसमा पुगोस्।
नेपाल सुपर ८ पुग्ने सबैभन्दा विश्वासिलो बाटो भनेको दुवै खेल जित्नु हो। नेपालले दुवै खेल जितिसकेपछि पनि नेदरल्याण्डले श्रीलंका वा बंगलादेशसँग हारेमा मात्रै नेपाल सुपर ८ पुग्न सक्छ।
नेदरल्याण्डले एउटा खेल हार्दा उसको ४ अंक मात्र हुन सक्छ। बंगलादेशले पनि नेपालसँग हार्दा उसको पनि ४ अंक हुनेछ। र, दुवै खेल जित्दा नेपालको ५ अंक हुनेछ।
नेपाली टिममा विश्वका सबै चर्चित खेलाडीहरुसंग खेलिसकेका र क्यारेबियन प्रिमियर लिग पनि खेलिसकेका सन्दीप लामिछाने जोडिने खबरले नेपाली खेलाडीको मनोबल उच्च भएको छ । क्यारेबियन राष्ट्र सेन्टभिसेन्टको किंग्स्टाउनस्थित क्रिकेट मैदानमा हुने खेलमा नेपाली खेलाडीहरुले आफूमा निहित क्षमता खुलेर प्रदर्शन गर्न पाए भने नेपाल सुपर आठमा पुग्न सक्छ ।
समयले नेपाली क्रिकेट टिमलाई अगाडि जाने मौका दिएको छ । सन्दीप उच्च अदालतबाट निर्दोष सावित हुनु र अमेरिकाले भिसा नदिए पनि क्यारेबियन राष्ट्र सेन्टभिसेन्टमा खेल्न आईसीसीले स्वीकृति दिनु नेपालको लागि अनुकूल परिस्थिति हुन् । विभिन्न प्रतिकूललाई अनुकूल बनाएको मौकामा नेपाली खेलाडीहरुले छक्का र चौका मात्रै बर्षाउने छैनन्, सन्दीप जस्ता घातक बलरले विपक्षीहरुको विकेट पनि भकाभक गिराउने विश्वास गर्न सकिन्छ ।


















