Prakash Adhikari June 13, 2024

निरञ्जन राजवंशी
फ्लोरिडा (संयुक्त राज्य अमेरिका), ३१ जेठ । एक सातासम्म पानी नपरेको फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड काउन्टीमा मङ्गलवार बिहानैदेखि निरन्तर वर्षा भयो।

नेपाल र श्रीलङ्काकाबीच हुने टी२० विश्वकपको खेल बिथोल्न वर्षाले त्यही दिन पर्खिरहेको हो कि भन्ने डर खेल सुरु हुनुपर्ने निर्धारित समयभन्दा केही अघि नै नेपाली टोलीका समर्थकहरूमा उत्पन्न भइसकेको थियो।

दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको उक्त खेल अन्ततः वर्षा नरोकिएपछि रद्द भयो। दुवै टोली १(१ अङ्क बाँड्न बाध्य भए।

श्रीलङ्काले दुई खेल हारिसकेको थियो। जारी प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्न पनि उसले नेपाललाई हराउनैपर्ने थियो।

यो खेल रद्द हुँदा श्रीलङ्काको विश्वकपयात्रा लगभग टुङ्गिएको छ।

अर्को चरणमा जाने उसको सम्भावना अब अङ्कगणितको कठिन जालोमा मात्र बाँकी छ।

अङ्क पाउँदा पनि नेपाललाई कस्तो हानि ?

नेपालका लागि त झन् यो खेलको महत्त्व अत्यधिक थियो। टोलीले पहिलो पटक टेस्ट राष्ट्र श्रीलङ्कासँग खेल्दै थियो।

श्रीलङ्कासँग खेल्दा नेपालले धेरै नयाँ कुरा गर्न पाउने अवसर थियो।

टेस्ट राष्ट्रलाई हराउने अर्को असोसिएट राष्ट्र बन्ने योजना कप्तान रोहित पौडेलले सुनाइसकेका थिए।

अझ महत्त्वपूर्ण अमेरिकामा रहेका नेपाली समर्थकहरूले देखाएको अपार मायालाई न्याय दिलाउने सपना टोलीका खेलाडीहरूमा थियो।

तर वर्षाले ती सबै सपना बगायो र नेपालको भागमा एक अङ्क पर्‍यो।

एक अङ्क पाएसँगै नेपालको विश्वकपमा अङ्कविहीन हुनुपरेन। तर त्यो नेपालले रुचाएको अङ्क थिएन।

“अङ्कभन्दा हामीलाई प्रतिस्पर्धाको मोह थियो,” प्रशिक्षक मोन्टी देसाईले पछि आयोजित पत्रकार सम्मेलनमा भने।

अर्को चरणमा प्रवेश गर्ने नेपालको सम्भावना कस्तो ?

यो विश्वकपमा आफूले खेलेका तीनवटै खेल जितेको दक्षिण अफ्रिका छ अङ्कसहित समूह ुडीु अर्को चरणमा पुगिसकेको छ।

दुई खेल हारेर समूह चरणमा सबैभन्दा पुछारमा रहेको श्रीलङ्का र चौथो स्थानमा रहेको नेपाल दुवैको एक(एक अङ्क छ।

पुछारको पाँचौँ स्थानमा रहेको श्रीलङ्काको एक अङ्कको अर्थ टोली प्रतियोगिताबाट बाहिरिने सँघारमा छ।

एक‍(एक खेल जितेका नेदरल्यान्ड्स र बाङ्ग्लादेशसहित नेपालको ुसुपर ८ु मा पुग्ने सम्भावना जीवितै छ।

त्यसको लागि नेपालले अब वेस्ट इन्डिजमा खेलिने खेलमा दक्षिण अफ्रिका र बाङ्ग्लादेशलाई पराजित गर्नुपर्ने कठिन परीक्षा पार गर्नुपर्ने छ।

नेदरल्यान्ड्स र बाङ्ग्लादेशबीच हुने खेलको नतिजाले पनि अरू टोलीको गणितीय सम्भावना तलमाथि हुने छ।

क्यारिबियनको पिच कस्तो छ ?

प्रशिक्षक मोन्टी देसाईले क्यारिबियन पिच ुबलिङमैत्रीु हुने भएकाले त्यहाँको स्थितिले खेलको नतिजा फरक पर्ने बताए।

सन्दीप लामिछाने पनि त्यहाँ खेल्ने भएकाले त्यो महत्त्व हुने उनको भनाइ थियो।

नेपालले दुवै खेल सेन्ट भिन्सेन्टको मैदानमा खेल्ने छ।

नेपालले पहिले दक्षिण अफ्रिकासँग जुन १५ तारिखमा त्यसपछि जुन १७ मा लीगको अन्तिम खेल बाङ्ग्लादेशसँग खेल्ने छ।

किन खुसी पनि निराशा पनि

ड्यालसमा जस्तै नेपाली समर्थकहरू फ्लोरिडामा पनि नेपाली ब्रोवर्ड काउन्टी रङ्गशालामा बर्सादी र छाता ओढेर प्रतीक्षारत थिए।

बिहानैदेखि निरन्तर वर्षा भइरहे पनि विभिन्न ठाँउबाट फ्लोरिडा आएका समर्थकहरू खेल हुने आशामा दुई घण्टाअगाडि नै रङ्गशालामा पुग्न थालेका थिए।

नेपाली टोलीको नीलो र रातो जर्सी लगाएर रङ्गशालामा उपस्थित भएकाका समर्थकहरूले आफ्नो सामाजिक सञ्जालमा पानीमा भिजेरै खिचिएका तस्बिर राखेका छन्।

कुल १४ हजार दर्शक क्षमता भएको उक्त रङ्गशालामा खेल रद्द हुनुअघि झन्डै ५ हजार जना पुगिसकेका थिए।

त्यहाँ पुगेका नेपाली समर्थकहरूले गीत गाउँदै खेल हुने प्रतीक्षामा बसे।

नेपाली समर्थकहरूले रङ्गशालामा पुर्‍याएको एउटा ब्यानरको तस्बिर आईसीसी र क्रिकेट असोसिएशन नेपालसहितले सामाजिक सञ्जालमा राखेपछि ुभाइरलु बन्यो।

त्यसमा अङ्ग्रेजी भाषामा लेखिएको थियो, “यदि आईसीसीले नेपालको खेल चन्द्रमामा राख्यो भने पनि नेपाली समर्थकहरू त्यहाँ पुग्ने छन्।”

उनीहरूको प्रतिक्रिया थियो, “खेल भएको भए निकै मज्जा हुने थियो। खेल हेर्न नपाएकोमा दुःखी छौँ। तर नेपाल विश्वकपमा छ र समर्थकहरूले निरन्तर साथ दिने कुरा हामीले प्रमाणित गरेका छौँ।”

नेपालको खेल हेर्न फ्लोरिडास्थित रङ्गशालामा सयौँ नेपाली समर्थकहरू गएका थिए। खेल स्थगित भए पनि उनीहरूले हर्षोल्लास गरे।

दर्शकप्रति सम्मान व्यक्त गर्न नेपाली खेलाडीहरूले मैदानमा ओर्लिएर उनीहरूलाई धन्यवाद दिएका थिए ।

Share Now