निरञ्जन राजवंशी
किंग्स्टाउन(सेन्ट भिन्सेन्टवेस्ट इन्डिज), ३ आषाढ(बीबीसी नेपाली सेवा)। लेग स्पीनर सन्दीप लामिछानेले टी २० आई क्रिकेटमा एक सय विकेट पुर्याएका छन्। टी२० विश्वकपअन्तर्गत सोमवार बिहानको बाङ्ग्लादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै उनको नाममा उक्त कीर्तिमान बनेको हो।
यसअघि ९८ विकेट लिइसकेका लामिछानेले पहिलो विकेट १३.२ ओभरमा तन्जिम हसन सकिवलाई बोल्ड गर्दै लिए।
उनले दोस्रो विकेटका रूपमा १५.३ ओभरमा जाकिर अलीलाई आउट गर्दै बनाएका थिए। सन्दीपको गुगलीलाई जाकिरले रोक्न सकेनन्।
उनले ५४ वटा टी–२० आई खेलेर सय विकेट लिएका हुन्। योसँगै उनी टी २०आईमा सबैभन्दा छिटो १०० विकेट लिने विश्वका खेलाडीहरूमध्ये दोस्रो स्थानमा रहन सफल भएका छन्।
जारी विश्वकप अन्तर्गत भिसा नपाएका कारण लामिछानेले अमेरिकामा भएको द नेदरल्यान्ड्स र श्रीलङ्काविरुद्धका दुई खेल खेल्न पाएका थिएनन्। यद्यपि श्रीलङ्कासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो।
एक किशोरीसंगको सहबास मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि उनी राष्ट्रिय टोलीबाट निलम्बित भएका थिए।
तर पाटन उच्च अदालतले जेठ २ गते सफाइ दिएपछि उनको निलम्बर फुकुवा भएको थियो।
गुमेको मौका
उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा दुई विकेट लिन सकेको भए उनको नाममा अर्को कीर्तिमान पनि हुने थियो।
अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिँदै टी–२०आईमा सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान रचेका थिए।
लामिछानेले त्यो कीर्तिमान बराबरी गर्ने मौका भने गुमाए।
यद्यपि उनको नाममा टी२० मा दुई कीर्तिमान कायम छन्।
उनले २९ खेल खेलेर ५० विकेट लिएका थिए। त्यो टी २० क्रिकेटको छैटौँ छरितो विकेट हो।
त्यस्तै टी २० आईमा उनले १७ विकेट एलबीडब्लूबाट प्राप्त गरेका थिए। त्यो कीर्तिमानको सूचीमा चौथो नम्बरमा छ।
एकदिवसीयमा एक सय
लामिछानेले एकदिवसीय क्रिकेटमा भने गत वर्ष एक सय विकेट लिँदै कीर्तिमान रचिसकेका छन्।
सन् २०२३ अप्रिल २१ तारिखका दिन काठमाडौंमा भएको एसीसी प्रिमिअर कपअन्तर्गत ओमानविरुद्धको खेलमा उनले सो कीर्तिमान बनाएका थिए।
बयालीस खेलबाटै १०० विकेट पूरा गरेका लामिछाने नेपालबाट उक्त कीर्तिमान बनाउने एक्लो खेलाडी पनि हुन्।


















