Prakash Adhikari June 21, 2024

काठमाडौँ, ७ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ ।

विश्व योग दिवसका अवसरमा आज भक्तपुरमाआयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

“शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो”, प्रधानमन्त्रीले भन्नुभयो, “नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमताका साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि, व्यक्तिमा सकारात्मक सोचको विकास, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।”

तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गर्नुुभयो ।

“नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपिल गर्दछु ।”

योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रम आयोजना
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारद्वारा दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित मूल समारोह समितिले भक्तपुरको एसओएस बालग्राममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरेको छ ।
प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुभएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले योग जीवनमा अपरिहार्यता रहेको चर्चा गर्नुभयो । उहाँले स्वस्थ जीवनका लागि सबैले योगाभ्यासलाई अपनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले योग दिवसको महत्व र सरकारले मनाउँदै आएको विश्व योग दिवसका बारेमा जानकारी गराउनु भयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले पठाउनुभएको शुभकामना सन्देश वाचन गर्नुभयो ।
सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी कार्यक्रममा ओमकार योग आयुर्वेद गुरुकुलबाट स्वस्तिक वाचनका साथै योग प्रोटोकलको आधारमा ओगाभ्यास गरिएको थियो । मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस नेपालले हरेक वर्ष मनाउँदै आएको छ ।
Share Now