काठमाडौं, ८ आषाढ । आईसीसी टी २० विश्वकप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुमा विश्व क्रिकेट लिगको नजर पर्न थालेको छ ।
नेपाली टोलीले स्वदेशी माटो स्पर्श गरेको केही दिनमै नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई आइएलटी २० टोली गल्फ जायन्ट्सले आगामी सिजनका लागि निरन्तरता दिएको छ ।
गत सिजन अन्तिम केही खेलमा टिममा रहेका स्टार अलराउन्डर दीपेन्द्रलाई यस पटक पूर्ण सिजनका लागि राखिएको खबर प्राप्त भएको छ ।
दीपेन्द्र गत फेब्रुअरीमा युएई गएका थिए र नामिबियासँगको लिग २ को पहिलो खेल गुमाएका थिए । तर उनले सो सिजनमा कुनै खेल पनि खेलेनन् ।
आइएलटि२० मा गल्फ जायन्टसमा फाइनलमा पुग्न असफल रहेको थियो । जायन्टसले दुबई क्यापिटल्ससँगको दोस्रो क्वालिफायरमा ९ विकेटको हार बेहोरेको थियो ।
दिपेन्द्रसँगै, जायन्ट्सले युएईका युवा अलराउण्डर आयान अफजल खान, जिम्बाब्वेका तीब्र गतिका बलर ब्लेसिङ मुजारबानी, इङ्ग्लिस खेलाडीहरु क्रिस जोर्डन, जेमी ओभरटन, रेहान अहमद, रिचर्ड ग्लेसन जेम्स भिन्सका, जोर्डन कक्स र जेमी स्मिथ, नामिबियाका कप्तान गेरासमुस र वेस्ट इन्डिजका शिमरोन हेटमायरलाई रिटेन गरेको छ ।
आइएलटी २० को तेस्रो सिजन २०२५ जनवरी ११ देखि ९ फेब्रुअरी सम्म अबुधाबी, दुबई र शारजाहमा खेल्ने तालिका छ ।
ग्लोबल टी २० क्यानडामा नेपालका तीन खेलाडी
क्यानडाले बर्षेनी गर्दै आएको ग्लोबल टी २० क्यानडामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल , पूर्व कप्तान सन्दीप लामिछाने र अलराउण्डर दिपेन्द्र सिङ ऐरी छनौटमा परेका छन् ।
पूर्वकप्तान सन्दीप र अलराउण्डर दीपेन्द्रसिंह ऐरी भान्कुवर नाइट्ले लिएको हो भने कप्तान पौडेललाई टोरोन्टो नेशनलले ।
पूर्वकप्तान सन्दीप विगतदेखि नै ग्लोबल टी २० क्यानडामा खेल्दै आएका हुन् ।