काठमाडौं ८ आषाढ । काठमाडौंमा सम्पन्न विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए २१) को तेस्रो परिपूरण बैठकले आगामी सन् २०२५ देखि ०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकका लागि सहयोग रणनीति तथा सहयोगका क्षेत्र निर्धारण गरेको छ।
बैठकले आईडीए मुलुकका लागि तीनवर्षे रणनीतिको खाका तयार पारेको हो।
बैठकमा तीन दिनसम्म चलेको बन्दसत्रमा आईडीए देशहरूको वित्तीय परिदृश्य सम्बन्धमा गहन छलफल गरिएको थियो।
यस्तै आगामी तीन वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र र त्यसको रणनीतिक ढाँचा, आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीबीच गहन छलफल भएको थियो।
बैठकले विश्व अर्थतन्त्रमा उत्पन्न चुनौती र आईडीए मुलुकहरूका विकासको आकांक्षा सम्बोधन गर्न एतिहासिक रूपले ठूलो आर्थिक प्याकेज जरुरी रहेको निष्कर्ष निकालेको छ।
बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयद्वारा गठित सचिव आयोजक समितिअन्तर्गतको व्यवस्थापन तथा समन्वय समिति संयोजक एवं मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले गरिब र कम विकसित मुलुकका लागि बैठकका उपलब्धी एतिहासिक हुने बताउनुभयो।
‘पहिला आईडीएले इन्पुटमा आधारित रणनीतिमा टेकेर काम गरेको थियो’, उहाँले भन्नुभयो, ‘अब नतिजालाई आउटपुटमा आधारित बनाएर जाने सैद्धान्तिक सहमति भएको छ।’
बैठकले आईडीए मुलुकका जनताका लागि विद्युत् र सूचना प्रविधिमा पहुँच तथा अवसरको वातावरण बनाउने प्रारम्भिक रणनीति तय गरेको छ। यसअघि अवसर सिर्जना गर्ने सूचीमा रहेको शिक्षा र स्वास्थ्यमा भने अब गुणस्तर वृद्धिमा जोड दिने रणनीति आईडीएले अघि सारेको उहाँले बताउनुभयो।
आईडीएले समावेशी विकासको नीतिमा जोड दिँदै लैंगिक विभेद अन्त्य तथा महिलालाई मूलप्रवाहीकरणमा समावेश गर्न थप कार्यक्रम एवं रणनीति बनाउनेछ।
महिलालाई मूलप्रवाहीकरणमा समावेश गर्न शैक्षिक र आर्थिक स्तरमा विकास तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनुपर्ने आईडीएको निचोड छ। विश्व बैंकको आगामी अक्टोबरमा हुने बैठकमा आईडीएका निष्कर्षबारे थप छलफल हुनेछ भने आगामी मंसिर २५ र २६ गते (डिसेम्बर १० र ११) मा दक्षिण कोरियामा हुने आईडीए २१ को अन्तिम बैठकले तीनवर्षे रणनीति कार्यान्वयन गर्ने औपचारिक निर्णय गर्नेछ।
राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठक मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो भने शुक्रबार अर्थमन्त्री वर्षमान पुनले बैठक समापन गर्नुभएको थियो।
विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो।
बैठकमा सहभागी हुन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित उपाध्यक्ष र निर्देशक सहभागी थिए। यस्तै ६१ देशका २ सयभन्दा बढी प्रतिनिधि बैठकमा उपस्थित थिए।
बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो।
विश्व बैंकले सन् १९६० मा स्थापना गरेको आईडीए विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी निकाय हो। यसले विकासमा पछि परेका तथा न्यून आय भएका गरिब मुलुकका लागि सहुलियतपूर्ण ऋण, अनुदान तथा बहुपक्षीय सहायता उपलब्ध गराइरहेको छ।


















