सरबजीत सिंह धालीवाल /बीबीसी पञ्जाबी
पाटियाला(पञ्जाब, भारत), ९ आषाढ । मेरो छोराले हाम्रो इज्जत बढाएकोमा मलाई गर्व छ, “यो भनाइ हो -नेपालको राष्ट्रिय क्रिकेट टोलीका एकजना चर्चित खेलाडी सोमपाल कामीकी आमा जुनादेवीको।
सोमपाल कामी नेपाली टोलीका चर्चित खेलाडी हुनुहुन्छ तर उहाँको बाल्यकाल भारतीय राज्य पञ्जाबको पटियाला जिल्लामा बितेको थियो।
सोमपालले पटियालाबाटै क्रिकेट खेल्न सुरु गर्नुभएको थियो।
उहाँले हालै अमेरिकामा भएको पुरुष टी२० क्रिकेट विश्वकपमा नेपाली टोलीको सदस्यका रूपमा सहभागिता जनाउनुभयो।
यो प्रतियोगितामा नेपाली टोली धेरै अगाडि बढ्न त सकेन तर नेपाली खेलाडीहरूले गरेको राम्रो प्रदर्शनले धेरैको ध्यान खिच्न सफल भयो।
सोमपालले आफ्नो प्राथमिक शिक्षा पटियालाको सरकारी विद्यालयबाट पूरा गर्नुृृभयो थिए र उहाँले त्यहीबाट क्रिकेट खेल्न थाल्नुभयो।
उहाँका आमाबुवा अहिले पनि पटियालामा नै हुनुहुन्छ। उहाँको घर चाहिँ पश्चिम नेपालको गुल्मी जिल्ला हो।
बुवाआमाको खुसी
बीबीसी पञ्जाबीसँग कुरा गर्दै जुनादेवीले छोरालाई क्रिकेटर बनाउन आफूहरूले कडा मेहनत गरेको सुनाउनुभयो। छोराले यतिखेर पाएको सफलताबाट उहाँ प्रसन्न हुनुहुन्छ ।
यद्यपि अहिले पनि उहाँ पटियालास्थित एक चर्चित परिवारको घरमा काम गर्नुहुन्छ आफ्ना पतिसँगै बस्नुहुन्छ।
जुनादेवीले भन्नुहुन्छ, “छोरा ठूलो भइसक्यो त्यसैले काम छाड्नुस् भनेर मानिसहरूले भन्छन् तर यो घरका लागि मैले धेरै मेहनत गरेकी छु। यसले हाम्रो भाग्य बदलेको छ यसलाई कसरी छाडेर जानु र ?”
छोरा अगाडि बढोस् भन्ने सपना साकार पार्न गरिब हुँदाहुँदै पनि आफूहरूले दिनरात मेहनत गरेको उहाँ बताउनुहुन्छ।
जुनादेवीका तीन भाई छोरामध्ये सोमपाल जेठा हुनुहुन्छ।
उहाँका अनुसार सोमपाल छ महिनाको हुँदा उहाँहरू पटियाला जानुभयो।
सोमपालले पटियालाकै एउटा सरकारी विद्यालयबाट प्राथमिक शिक्षा प्राप्त गर्नुभयो।
उहाँले स्कूलले जीवनमै क्रिकेट खेल्न सुरु गर्नुभयो।
जुनादेवीले बताएअनुसार सोमपाल दिनरात क्रिकेट खेल्नुहुन्थ्यो। स्कूलबाट आएपछि उहाँ राति एक बजेसम्म सडकमा बलिङ गरिरहेका भेटिनुहुन्थ्यो।
उहाँले आफूले गरिबीका कारण छोराको खेल्ने सपना साकार नहुने अवस्था नहोस् भनेर मानिसहरूका घरमा काम गर्न सुरु गरेकी बताउनुभयो।
जुनादेवीको सपना आफ्नो छोरो ठूलो मान्छे बनोस् भन्ने थियो।
पहिले उहाँको सपना सुनेर मानिसहरू हाँस्ने गर्थे तर अहिले त्यो सत्य साबित भएको छ।
भारतका लागि खेलेका सोमपाल
सोमपालका पिता अहिले पनि पञ्जाब पावर कर्पोरेशनमा कार्यरत हुनुहुन्छ ।
नेपाली राष्ट्रिय टोलीमा छनोट हुनुअघि सोमपाल कामीले भारतका लागि कैयौँ प्रतिष्ठित प्रतियोगितामा पनि भाग लिनुभएको थियो।
बीबीसी पञ्जाबीसँग कुरा गर्दै सोमपालका पिता रामबहादुरले आफू १२ वर्षको उमेरमा पटियाला आएको बताउनुभयो।
सुरुमा उहाँले मानिसहरूका घर र होटलमा सुरक्षा गार्डका रूपमा काम गर्नुभएको थियो। त्यसपछि उहाँले पञ्जाब स्टेट पावर कर्पोरेशनमा जागिर पाउनुभयो।
सन् १९९५ देखि रामबहादुरले आफ्नो परिवारसहित पटियालामा स्थायी रूपमा बसोबास गर्न सुरु गर्नुभयो।
सोमपाललाई उहाँले सेनामा भर्ना गर्न चाहे तापनि सोमपालको रुचि भने क्रिकेटमा थियो।
सोमपालले आफ्नो ठाउँ बनाएको र त्यसले आफू खुसी भएको उहाँ बताउँनुहुन्छ।
रामबहादुर छोरालाई भेट्न हरेक वर्ष नेपाल आउनुहुन्छ। उहाँ अवकासपछि सधैँका लागि नेपाल फर्किने बताउनुहुन्छ ।
सोमपालको सफलताका लागि रामबहादुर र उहाँको परिवारले कडा मेहनत गरिरहनुभएको छ।
रामबहादुर भन्नुहुन्छ, “पैसा नभए पनि ऋण लिएरसमेत सोमपालको खेललाई निरन्तरता दियौँ। अहिले हाम्रो मेहनतले फल दिएको छ।”


















