लसएञ्जल्स(संयुक्त राज्य अमेरिका), ११ आषाढ(एजेन्सी) । कोपा अमेरिका कप २०२४ अन्तरगत गए राति सम्पन्न खेलमा उपाधि दावेदार ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको छ भने कोलम्बियाले पराग्वेलाई पराजित गरेको छ।
अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिदा दुवै टोलीले १ १ अंक बाडेका छन्।
खेलमा ब्राजिलले खेलमा एकपक्षीय आक्रमण गरेपनि गोल भने गर्न सकेन ।
ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र पठाएपनि रेफ्रीले भीएआरको सहयोग लिँदै गोललाई मान्यता दिएनन् । त्यसपछि ब्राजिलले लगातार आक्रमण गरेपनि गोल गर्न भने सकेन ।
दोस्रो हाफमा थप आक्रामक देखिएको ब्राजिलले पटक पटक कोस्टारिकाको डिफेन्सलाई समस्या दियो । लुकास पाक्वेटाको प्रहारमा पोस्ट बाधक बन्दा ब्राजिल अग्रता लिनबाट बन्चित भएको थियो ।
त्यसअघि समूह डी कै खेलमा कोलोम्बियाले पाराग्वेलाई २ १ ले हरायो । कोलोम्बियाले पहिलो हाफमै ड्यानीएल मुनोज र जेफर्सन लार्माको गोलमा २ ० को अग्रता लिएको थियो । दोस्रो हाफमा जुलिओ एन्सिजोले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् ।
समूहमा कोलोम्बियाको ३ अंक भएको छ । ब्राजिल र कोस्टारिकाको १ १ अंक तथा पाराग्वे विना अंक पुछारमा छ ।
कोपा अमेरिका अन्तर्गत बुधबार समूह ए मा पेरुले क्यानडा तथा चिलीले अर्जेन्टिनाको सामना गर्नेछ ।


















