सेन्टभिसेन्ट(वेष्ट इण्डिज), ११ आषाढ(एजेन्सी)। अफगानिस्तान पहिलो पटक आइसीसी टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा बंगलादेशलाई डकवर्थ लुइसका आधारमा ८ रनले हराउदै उसले सेमी फाइनलमा स्थान सुरक्षित गरेको हो ।
अफगानिस्तान सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तान र भारतसँग पराजित अष्ट्रेलिया सुपर ८ चरणबाट नै बाहिरिएको हो ।
समूह १ मा भारत ६ अंक सहित समूह विजेता बन्दा दोस्रो अफगानिस्तानको ३ खेलमा ४ अंक हासिल गरी उपविजेताको रुपमा अर्को चरणमा प्रवेश गर्न सफल रह्यो ।अष्ट्रेलिया २ अंक सहित तेस्रो स्थानमा रह्यो भने बंगलादेशले अंक जोड्न सकेन।
अफगानिस्तानले फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारत र इङ्ल्यान्ड भिड्ने छन् ।
डकवर्थ लुइसका आधारमा बंगलादेशलाई जितका लागि १९ ओभरमा १ सय १४ रन आवश्यक थियो । तर ७ बल बाँकी छँदा बंगलादेश १ सय ५ रनमा समेटियो । बंगलादेशका लागि ओपनर लिटन दास इनिङको सुरुवातदेखि अन्तिमसम्म क्रिजमा डटेर अविजित रहे । तर अर्कोतर्फ लगातार विकेट खसेपछि बंगलादेशलाई उनले पार लगाउन सकेनन् ।
लिटनले ४९ बलमा ५४ रन बनाएका थिए । अन्य ब्याटरको प्रदर्शन भने राम्रो रहेन । टोहिद हृदोयको १४ रन नै दोस्रो ठूलो स्कोर रहेको थियो ।
अफगानिस्तानका लागि नभिन उल हक र राशिद खानले समान ४ ४ विकेट लिए । फजलहक फरूकी र गुलबदिन नैबले समान १ विकेट लिए ।
त्यसअघि सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । अफगानिस्तानका रहमनुल्लाह गुर्बाजले ५५ बलमा ४३ रन बनाएका थिए । राशिद खानले १९ रन बनाउँदा इब्राहिम जाद्रानले १८ रन बनाए ।
बंगलादेशका लागि ऋषाद होसेनले ३ तथा तास्किन अहमद र मुस्तफिजुर रहमानले एक एक विकेट लिए ।


















