काठमाडौं, १२ आषाढ । आउँदो जुलाईमा लेबनानमा हुने सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ ।
प्रशिक्षक राजेन्द्र तामाङद्धारा घोषित २३ सदस्सीय नेपाली टोलीमा वाफ च्याम्पियनशिपका लागि साउदी अरब पुगेका खेलाडीहरुकै बाहुल्यता छ ।
सो प्रतियोगितामा घाइते भएकी मिडफिल्डर प्रिती राई टोलीमा समावेश भएकी छन् । एसियाली खेलकुदमा घाइते भएकी सरु लिम्बु र रेनुका नगरकोटी पनि टोलीमा फर्केका छन् । नेपालकी फरबार्ड साबित्रा भण्डारी यसपटक प्रतियोगितामा पूरै समय टिममा रहने भएकी छन् ।
नेपालले पहिलो खेल असार २६ (जुलाई १०) का दिन जोर्डनसंग खेलेर सुरु गर्ने छ । वाफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल टाईब्रेकरमा जोर्डनसंग पराजित हुन पुगेको थियो। फाइनल खेलमा नेपालकी विश्वचर्चित खेलाडी साबित्रा भण्डारी खेल्न पाएकी थिइनन् । उनी फ्रान्सको लिग खेल्न फाइनल अगावै बिदा भएकी थिइन ।
नेपालले जोर्डन पछि दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेश विरुद्ध असार २९ (जुलाई १३) मा खेल्नेछ भने घरेलु टोली लेबनान विरुद्ध श्रावण १ (जुलाई १६) मा ।
चार टोली सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिन पद्धतिमा खेलाईने छ । तालिकामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
टोलीको प्रशिक्षण राजेन्द्र तामाङले गरिरहेका छन् । नेपाली टोली पश्चिम एसियाली (वाफ) च्याम्पियनसिपको उपविजेता बन्दा पनि तामाङ नै नेपालको प्रशिक्षक रहेका थिए ।
नेपाली टोली
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डरः अमृता जैसी, गीता राना, हीरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे
मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ


















