गुयना(वेष्ट एण्डिज), १४ आषाढ(एजेन्सी) । आइसीसी टी २० विश्वकप २०२४ अन्तरगतको दोस्रो सेमिफाइनल खेलमा प्रतिस्पर्धी इंग्ल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ ।
गुयानाको प्रोभिडेन्सस्थित रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै टी २० विश्वकपको फाइनल यात्रा तय गरेको हो ।
खेलमा भारतले दिएको १ सय ७२ रनको लक्ष्य इङ्ल्यान्डले हासिल गर्न सकेन । उसले २० ओभरको निर्धारित खेल १६.४ ओभरमा समापन गर्दै १ सय ३ रन रन मात्र जोड्न सक्यो ।
खेलमा इङ्ल्यान्डका ह्यारी ब्रुकले २५, ओपनर जस बटलरले २३, जोफ्रा आर्चरले २१, लियाम लिभिड. स्टोनले ११, मोइन अलीले ८, फिल साल्टले ५, रियास टोप्ले ३,आदिल रसिद र श्याम कुरानले २ ।२, क्रिस जोर्डनले १ रनको योगदान गरे । जोनी वैरष्टो शून्य रनमा आउट भए ।
इंग्ल्याण्डलाई रोक्ने क्रममा भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए । जसप्रित बुम्राहले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५७ रन जोडे ।
यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतले ४७ रन जोडे । हार्दिक पन्ड्याले रन बनाए । रविन्द्र जडेजा १७ रनमा नटआउट रहे । अक्षर पटेल १० रन जोडे । खेलमा विराट कोहलीले ९ र ऋषभ पन्तले ४ जोडे । आर्शदीप सिंह १ रनमा नटआउट रहे । शिभम् दुवे खाता नखोली आउट भए ।
भारतलाई रोक्ने क्रममा इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए । रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १ विकेट लिएका थिए ।
भारतले फाइनलमा दक्षिण अफ्रिकासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।
दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको हो ।
दक्षिण अफ्रिकाको यो कुनै पनि क्रिकेट विश्वकपमा पहिलो फाइनल हो ।
सन् २००७ को पहिलो संस्करण जितेको भारतले तेस्रो पटक फाइनल खेल्दैछ ।
उपाधि नेपालको छिमेकी भारतले उचाल्छ कि दक्षिण अफ्रिकाले शनिवारको फाइनलले तय गर्नेछ ।








