ब्रिजटाउन (बार्बाडोस, वेष्ट इण्डिज), १५ आषाढ । आईसीसी टी–२० विश्वकप २०२४ को उपाघि छिमेकी राष्ट्र भारतको राष्ट्रिय टिमले जितेको छ ।
शनिवार राति वेष्ट इण्डिजको बार्बाडोसको ब्रिजटाउनमा भएको फाइनलमा प्रतिस्पर्धी दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले विश्वकपको उपाधि जितेको हो ।
खेलमा भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५२ रन बनाए । उसका लागि क्विन्टन डे ककले ३९, ट्रिसन स्टबले ३१ रन, डेभिड मिलरले २१, कासिगो राबडा, रिजा हेन्ड्रिक र ऐडान माक्र्रमले ४ । ४ रन, म्याक्रो जानसेन २ रन बनाए । केशव महाराज २ रन र एण्ड्रिज नोर्टज १ रनमा नट आउट रहे ।
दक्षिण अफ्रिकालाई रोक्न भारतका लागि हार्दिक पाण्डेयले ३, अर्षदीप सिंह र जसप्रित बुमराहले २।२ र अक्षर पटेलले एक विकेट लिए।
यस अगाडि वेस्ट इन्डिजको व्रिजटाउनस्थित किङ्सटन ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेर दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
भारतका लागि विराट कोहलीले ७६ रन जोडे । खेलमा अक्षर पटेलले ४७, शिभम् दुवेले २७,रोहित शर्माले ९, हार्दिक पाण्डेयले ५ , सूर्यकुमार यादवले ३ र रभिन्द्र जडेजाले २ रनको योगदान गरे । ऋषभ पन्त शून्य रनमा आउट भए ।
भारतलाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका केशव महाराज र एण्ड्रिज नर्जले २ ।२ तथा मार्को जानसन र कागिसो राबडाले १ ।१ विकेट लिएका थिए ।


















