Prakash Adhikari July 2, 2024

काठमाडौं, १८ आषाढ । नयाँ सत्ता गठबन्धनको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बिहान ९ः०० बजे आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाउनुभएको छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने कार्यक्रम छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यरातमा देशमा राजनीतिक स्थायित्व कायम गर्न र संविधान संशोधन मार्फत वर्तमान शासन प्रणालीमा सुधार ल्याउन समझदारी भएको थियो ।

समझदारी पत्रलाई आज अन्तिम रुप दिएर दुवै दलका शीर्ष नेताहरुले हस्ताक्षर गर्ने तयारी छ ।

दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको समझदारीमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका दुई वर्ष प्रधानमन्त्री बन्ने र कांग्रेस सभापति शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।

सहमति अनुसार दुवै दलले प्रदेशमा तीन तीन सरकार लिने छन् । मधेशमा चाँही मधेशकेन्द्रित दलकै नेतृत्व दुवै दल सहभागी हुने छन् ।

दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा एक संविधान संशोधन सुझाव आयोग बनाउने पनि सहमति भएको छ ।

Share Now