कान्सास सिटी(मिसौरी,संयुक्त राज्य अमेरिका) १८ आषाढ(एजेन्सी)। आयोजक अमेरिका कोपा अमेरिका २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा उरुग्वे विरुद्ध पराजय भोगेसँग अमेरिका समूह चरणबाटै बाहिरिएको हो ।
अमेरिकालाई पराजित गर्न उरुग्वेका लागि माथियस ओलिभिएराले ६६औं मिनेटमा खेलको एकमात्र गोल गरे ।
समूह सि का अन्तिम दुई खेल अघि अमेरिकाको र पानामाको ३-३ अंक हुँदा उरुग्वेको ६ अंक रहेको थियो । पानामाले आफ्नो खेलमा बोलिभिया माथि ३-१ को जित निकालेसँगै अमेरिका बाहिरिने निश्चित भएको हो ।
पानामाले सो खेलमा हार बेहोरेको भए अमेरिकाको गोल अन्तरका आधरबा क्वाटरफाइनलमा प्रवेश गर्ने अवसर रहेको थियो । तर अनुकूल नतिजा नआउँदा अमेरिका समूह चरणबाटै बाहिरिएको हो ।
उरुग्वेले अब सेमीफाइनल प्रवेशका लागि समूह डी को उपविजेता विरुद्ध खेल्नेछ भने पानामाले सोही समूहको विजेता विरुद्ध खेल्नेछ । सो समूहको शीर्ष दुई स्थानको छिनोफानो बुधबार बिहान हुनेछ ।
बुधवार विहान कोलम्बिया र ब्राजिल भिड्ने छन् भने कोस्टा रिका र पाराग्वे पनि भिड्दै छन् । सो समूहमा कोलम्बियाको ६ अंक छ भने ब्राजिलको ४ अंक रहेको छ । कोस्टा रिकाको १ र पाराग्वेको कुनै अंक छैन ।
गोलअन्तर राम्रो रहेकाले ब्राजिलले हार बेहोरेको र कोस्टा रिकाले जित हासिल गरेको खण्डमा पनि ब्राजिल दोस्रो चरण प्रवेश गर्ने प्रवल सम्भावना छ ।