Prakash Adhikari July 2, 2024

 

भरतपुर(चितवन), १८ आषाढ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् ।

चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेका छन् । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।

नेपाली क्रिकेटमा पुर्‍याएको योगदान तथा टि ट्वान्टी अन्तराष्ट्रियमा १ सय विकेट लिएको अवसर पार्दै सन्दीपलाई सम्मान गरिएको सेन्ट्रल कलेजका प्राचार्य यज्ञविलास पौडेल (वाईबी) ले बताउनुभएको छ ।‌ सन्दीपले क्रिकेटको माध्यमबाट देशलाई अतुलनिय योगदान गरेको पौडेलको भनाइ थियो ।

सम्मान कार्यक्रममा क्रिकेटर सन्दीपले आफ्नो सुरुवाती दिन स्मरण गर्नुभएको थियो । उहाँले नारायणगढको क्याम्पाचौरस्थित नेटमा अभ्यास गर्दाको दिनहरु स्मरण गर्दै आफ्नो लक्ष्यमा पुग्न कडा मेहेनतका साथ अघि बढ्न युवा खेलाडीहरुलाई सुझाव दिनुभयो । उहाँले सम्मानका लागि सेन्ट्रल कलेज र चितवन क्रिकेट संघलाई धन्यवाद व्यक्त गर्नुभयो ।

चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाले सन्दीप कडा मेहेनत र अनुशासनले आज विश्वमाझ चिनिएको उल्लेख गर्दै उनले धेरै युवा खेलाडीलाई उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।

त्यस अघि आज नै भरतपुर महानगरपालिकाले पनि सन्दीपलाई नगदसहित सम्मान गरेको थियो । महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा सन्दीपलाई १ लाख रुपैयाँसहित सम्मान गर्नुभएको थियो।

Share Now