Prakash Adhikari July 4, 2024

काठमाडौं, २० आषाढ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नोल वायुसेवा निगमले न्यारोबडी जहाज (ए३२०)को इन्जिन मर्मत तथा वाइडबडी जहाज ३३० को सी चेक सम्बन्धमा भएका अनियमितता छानबिन गर्न समिति गठन गरेको छ।

मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

यही १८ गते मन्त्रीस्तरीय निर्णयबाट गठित समितिले इजरायलमा मर्मत संभार भएको ए ३२० वायुयानको अस्वभाविक मर्मतसम्भार खर्च र अन्नपूर्ण नामक ए ३३० वाइडबडी जहाज थ्रि सी चेकका लागि इटली पठाएको सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरेको हो।

उक्त समितिले यससम्बन्धी सबै कागजात र विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निगमलाई निर्देशन दिएको छ।

निगमले ए ३२० जहाजको इन्जिन मर्मतसम्भार गर्न इजरायल पठाउँदाको सबै कागजात, फाइल तथा पत्राचार (इमेल समेत) समितिलाई बुझाउनुपर्नेछ। निगमका कर्मचारीहरुले यसपटक इजरायलको कम्पनीले समयमा मर्मत संभार पनि नसकेको र खर्च पनि अस्वाभविक रुपमले बढी निकालेको आरोप लगाएका। ।

निगमले केही दिन पहिले 9N-ALY कल साइन भएको अन्नपूर्ण नामक वाइडबडी जहाज ए ३३० वायुयान इटलीको एमएस अलिटेक एसपीएमा पठाउँदाको सबै निर्णय प्रक्रिया तथा निगमको प्रावधान र यससम्बन्धी कागजात (निर्णय, पत्राचार, इमेल लगायत सबै) समितिले मागेको छ।

त्यसैगरी समितिले उक्त कार्यमा संलग्न अधिकारीहरुको विवरण (नाम र सम्पर्क विवरणसहित) पनि बुझाउन भनेको छ।

Share Now