Prakash Adhikari July 5, 2024

ह्युस्टन(टेक्सास,संयुक्त राज्य अमेरिका), २१ आषाढ(एजेन्सी) । अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

टेक्सास राज्यको ह्युस्टनस्थित एनआरजी रंगशालामा भएको खेलमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४ २ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।

कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ । त्यसकारण खेल निर्धारित समयमा १(१ को बराबरीमा सकिएपछि टाईब्रेकर भएको थियो ।

टाईब्रेकरमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी क्रसबारमा लागेर बाहिरियो । तर फेरि एकपटक मार्टिनेज चम्किए । उनले इक्वेडोरका एन्जल मेना र एलन मिन्डाको पेनाल्टी बचाए । जोन येबोआह र जोर्डी काईसेडोले गोल गरे ।

अर्जेन्टिनाका लागि भने जुलियन अल्भारेज, एलेक्सिस मकयालिस्टर, गोन्जालो मोन्टीएल र निकोलस ओटामेण्डीले भने गोल गरे ।

त्यसअघि ३५औं मिनेटमा डिफेन्डर लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो । लियोनेल मेस्सीको कर्नर किकमा एलेक्सिस मक यालिस्तरको फ्लिक(अन हेडर पश्चात फार पोस्टमा मार्टिनेजले फ्रि(हेडर प्रहार गरेका थिए ।

गोल गरेपछि धेरै मौकाहरु बनाउन नसकेको अर्जेन्टिनाले ६२औं मिनेटमा इक्वेडोरलाई पेनाल्टी मार्फत बराबरी गर्ने मौका प्रदान गर्यो । रोड्रीगो डेपलले बक्स भित्र ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा भने इक्वेडोरका कप्तान एनर भ्यालेन्सियाले गोल गर्न सकेनन् । किपर एमि मार्टिनेजले अर्को तर्फ डाइभ गरिसकेको अवस्थामा उनको पेनाल्टी अर्कोतर्फको पोस्टमा लागेर बाहिरियो ।

तर इन्ज्युरी समयको दोस्रो मिनेटमा इक्वेडोरले बराबरी गोल गर्यो । जोन येवोआहको क्रसमा केभिन रोड्रिगेजले हेडर मार्फत गोल गर्दै खेल पेनाल्टी सुटआउटमा धकेले । र अन्ततः टाइब्रेकरमा अर्जेन्टिना विजयी भयो।

अर्जेन्टिनाले अब भेनेजुएला र क्यानडा बीचको विजेता विरुद्ध सेमिफाइनलमा खेल्नेछ । सो खेल शनिबार हुनेछ ।

Share Now