काठमाडौं,२२ आषाढ । एसीसी महिला एशिया कप २०२४ मा भिड्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाई गरेको हो ।
कार्यक्रममा क्यानका सचिव पारस खड्का सहित अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको उपस्थिति रहेको थियो ।
क्रिकेट एशियाको प्रतिष्ठित मानिएको यस प्रतियोगिताको उद्दघाटन खेलमा नेपाली महिला टोलीले युएईसँग खेल्ने छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् ।
यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ए मा रहेको नेपालले अब पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।
समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
एशिया कपमा सहभागी हुनु अघि नेपाली टोलीले ३ अभ्यास खेलहरु खेल्नेछ । नेपाली टोलीले श्रीलंका विकास टोली विरुद्ध जुलाई ९, १० र १६ मा ३ खेल खेल्ने छ ।
गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् ।
तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाउने निर्णय गरेपछि सो खेलमा उत्कृष्ट प्रदर्शन गरी चयन हुन असमर्थ थाइल्याण्ड र नेपाललाई एशिया कप प्रतियोगितामा समावेश गरेको हो ।
यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । नेपालले यसअघि सन् २०१२ र २०१६ मा टी २० एसिया कप खेलेको थियो । यसपटकको एसिया कप पनि टी २० प्रतियोगिता रहनेछ ।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी रहने छन् ।
बन्द प्रशिक्षणमा रहेकी अप्सरी बेगमले प्रशिक्षकहरुमाथि दूव्र्यबहार गरेको भन्दै क्यानले उनलाई निलम्बन गरेको छ ।