फिनिक्स(संयुक्त राज्य अमेरिका), २३ आषाढ(एजेन्सी) । कोपा अमेरिका २०२४ को उपाधि दावेदार ठानिएको ब्राजिल क्वाटरफाइनलबाट नै बाहिरिएको छ ।
अमेरिकाको फिनिक्समा भएको क्वाटर फाइनल खेलमा टाइब्रेकरमा उरुग्वेलाई पराजित गर्न नसकेपछि ब्राजिल बाहिरिएको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो ।
ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले टाइब्रेकरमा गोल गर्न सकेनन । उरुग्वेका कप्तान जोसे जिमिनेजले गोल गर्न नसकेपनि अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
त्यसअघि कोलोम्बियाले पानामालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । अब उरुग्वे र कोलोम्बियाले सेमिफाइनलमा खेल्नेछन् । अघिल्लो दिन मात्र अर्जेन्टिनाले इक्वेडर तथा क्यानडाले भेनेजुएलालाई पराजित गरेका थिए ।
यी दुवै पहिलो सेमिफाइनलमा खेल्नेछन् ।