Prakash Adhikari July 12, 2024

वासिङ्टन डीसी, २८ असार (रासस/एएनआई) : सहकर्मी डेमोक्र्याटहरूको पुनः निर्वाचन अभियान समाप्त गर्ने बढ्दो दबाबबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चिकित्सकले आफ्नो मानसिक स्वास्थ्यको बारेमा आएका चिन्ताहरू सम्बोधन गर्न सुझाब दिएमा ‘न्यूरोलोजिकल परीक्षण गर्न’ तयार रहेको सङ्केत गर्नुभएको छ ।

“म यसको विरोध गर्दिनँ, यदि मेरा चिकित्सकहरूले मलाई अर्को न्युरोलोजिकल जाँच गर्न भनेमा म यो गर्नेछु,” नाटो शिखर सम्मेलनको समापनमा बिहीबार आयोजित उच्चस्तरीय पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।

बाइडेनले आफू राष्ट्रपति कार्यालयमा रहँदा तीनपटक मस्तिष्क स्वास्थ्य जाँच गरेको र पछिल्लो पटक फेब्रुअरीमा उक्त जाँच गरेको बताउनुभयो ।

“मैले हरेक दिन लिने निर्णयबाट मेरो न्युरोलोजिकल क्षमताको परीक्षण भइरहेको छ,” उहाँले भन्नुभयो । बिहीबार पत्रकारहरूसँग सम्वाद गर्ने क्रममा राष्ट्रपति बाइडेनले आफू राष्ट्रपति पदको प्रतिष्पर्धाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले एक कमजोर बहस प्रदर्शनपछि राष्ट्रपतिका लागि आफ्नो योग्यताको बारेमा चिन्तित विरोधी र अमेरिकी मतदातासमक्ष आफूलाई पुष्टि गर्न आवश्यक रहेको पनि स्वीकार गर्नुभएको छ ।

जुन २८ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सिएनएन बहसपछि नेताहरूले बाइडेनलाई राष्ट्रपति पदको प्रतिष्पर्धाबाट पछि हट्न दबाब दिइरहेका छन् यद्यपि उहाँले पूर्व राष्ट्रपति ट्रम्पलाई हराउने विश्वास व्यक्त गर्नुभएको छ ।

जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराएपछि…

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गल्तीले रूसी नेता भ्लादिमिर पुटिनको रूपमा परिचय गराउनुभएको छ ।

यद्यपि, ८१ वर्षीय राष्ट्रपतिले तुरुन्तै आफूलाई सच्याउनुभएको थियो । राष्ट्रपति जेलेन्स्कीले यसको प्रतिक्रियामा आफू पुटिनजस्तो नभई एक ‘असल’ युक्रनी नेता भएको बताउनुभयो ।

दुई हप्ता अघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा चिन्ता बढेको छ ।

“अब म यसलाई दृढ सङ्कल्प भएका युक्रेनका राष्ट्रपति पुटिनलाई हस्तान्तरण गर्न चाहन्छु,” बाइडेनले वासिङ्टनमा शिखर सम्मेलनमा नाटो–युक्रेन सम्झौताको घोषणामा भन्नुभएको थियो । राष्ट्रपति बाइडेन तुरुन्तै आफुलाई सच्याउँदै भन्नुभयौ, “राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति पुटिनलाई पराजय गर्नुहुनेछ । म पुटिनलाई हराउनमा यति केन्द्रित छु । हामीले यसको चिन्ता गर्नुपर्छ ।”

बाइडेनका रिपब्लिकन प्रतिद्वन्द्वीहरूले केही मिनेटभित्रै उक्त क्लिप प्रसारण गर्न थालेका हुन् ।

– – –

Share Now