Prakash Adhikari July 13, 2024

भरतपुर (चितवन), २९ असारः भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आज पनि हुनेभएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हिजो शुक्रबार दिनभरिको खोजीमा पनि दुवै बस र बससंगै हराएका यात्रुहरुको उद्धार हुन नसकेकोले आज बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिने बताउनुभएको छ ।

नदीमा पानीको प्रवाह नघटेको र रात परेकाले हिजो खोजी कार्य स्थगित गरिएको थियो । हिजो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गोताखोरहरुले घटनास्थलबाट नदीको तीन चार किलोमिटर तलसम्म खोज्दा पनि बस बसमा यात्रा गरेका यात्रुहरु भेटाउन सकेका थिएनन् । नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको थियो ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताउनुभयो ।

त्रिशूलीमा बेपता भएको ती दुई बसमा कम्तीमा ४८ यात्रु रहेको बताइएको छ । बस व्यवसायी कम्पनीमा दर्ता भएको यात्रु टिकट चलानी अभिलेखअनुसार गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु सवार थिए । तर, बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे यकिन छैन ।

उहाँका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।

Share Now