Prakash Adhikari July 15, 2024
काठमाडौँ, ३१ असारः नवनियुक्त गृहमन्त्री रमेश लेखकले विधिको शासन, शान्तिसुरक्षा र अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृहमन्त्रीको शपथ ग्रहणपश्चात् आज मन्त्रालयमा पदबहालीका क्रममा उहाँले विधिको शासन स्थापित गर्न सुरक्षा निकाय र गृह प्रशासनबाट पर्याप्त सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
     “सबै मिलेर काम गरौँ, मेरातर्फबाट गृह मन्त्रालयले सम्पादन गर्नुपर्ने कार्य इमान्दार भई निष्ठापूर्वक गर्नेछु”, मन्त्री लेखकले भन्नुभयो । उहाँले आफू गृहमन्त्रीका रुपमा रहँदासम्म इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री लेखकले गृह मन्त्रालयबाट भइरहेका कामकारबाहीको सूक्ष्म अवलोकन गरेर सुझाव दिन सञ्चारजगत्सँग आग्रह गर्नुभयो ।
मन्त्री लेखकले प्राकृतिक प्रकोपका कारणबाट भएको जनधनको क्षतिलाई उचित ढङ्गले सम्बोधन गर्नेगरी काम गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो । “प्राकृतिक विपद्बाट मुलुकका धरै स्थानमा जनधनको क्षति भई विषम् परिस्थिति उत्पन्न भएको छ, यसलाई सम्बोधन गर्नु सरकारको पहिलो दायित्व हो ।”
     गणतन्त्र र समावेशिताको सुदृढीकरण सरकारको उच्च प्राथमिकता
     गृहमन्त्री लेखकले देशमा राजनीतिक स्थिरता कायम गरी सुशासन कायम गर्ने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको स्पष्ट पार्नुभयो । मुलुकको अर्थतन्त्रलाई क्रियाशील बनाउने तथा संविधानलाई थप सुदृढ बनाउन सरकार क्रियाशील हुने उहाँको भनाइ छ ।
“संविधानको समीक्षा र मूल्याङ्कन गर्ने, संविधानको मूल तत्वका रुपमा रहेका गणतन्त्र र समावेशितालाई सुदृढ र बलियो बनाउन सरकार लागिपर्नेछ”, मन्त्री लेखकले भन्नुभयो, “यस व्यवस्थालाई सुदृढ गर्दै मुलुकमा सुशासन कायम गरी आमजनतालाई राहत उपलब्ध गराउने कायलाई सरकारले प्राथमिकता दिनेछ ।”
  मन्त्री लेखकलाई गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत गृह मन्त्रालयका उच्चअधिकारीले स्वागत गर्नुभएको थियो ।
‘शालीन व्यक्तित्व: गृह प्रशासनको नेतृत्व’

नेपाली कांग्रेसभित्र प्रभावशाली एवं समन्वयकारी नेताका रूपमा स्थापित कांग्रेस नेता रमेश लेखकले मुलुकको गृह प्रशासनको नेतृत्व सम्हाल्ने अवसर पाउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज उहाँलाई गृहमन्त्रीका रुपमा नियुक्त गर्नुभएको हो । राजनीतिक विषयवस्तुलाई गहन ढङ्गले विश्लेषण गरी तर्क प्रस्तुत गर्नसक्ने प्रखर व्यक्तित्व तथा अध्ययनशील नेताका रुपमा मन्त्री लेखक चिनिनुहुन्छ ।

माता शारदादेवी र पिता प्रयागदत्तका सुपुत्रका रुपमा लेखकको जन्म २०२० साल मङ्सिर २५ गते बैतडी जिल्लामा भएको हो । उहाँको स्थायी ठेगाना सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको छ । नेता लेखक हाल काठमाडौँको चन्द्रागिरि नगरपालिकामा बसोबास गर्नुहुन्छ ।

उहाँले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गर्नुभएको छ । लेखक विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ र २०४६ सालमा नेपाली कांग्रेसमा आबद्ध हुनुभयो ।

उहाँले २०३६ सालमा कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको राजनीति सुरुआत गर्नुभएको थियो । २०४६ सालको जनआन्दोलनसँगै पार्टीको सक्रिय राजनीति सुरु गर्नुभयो । २०५६ सालको आम निर्वाचनमा पहिलोपटक कञ्चनपुर निर्वाचन क्षेत्र नं ४ बाट उहाँ निर्वाचित हुनुभएको थियो ।

जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभामा नेता लेखकले सक्रिय भूमिका खेल्नुभयो । लोकतन्त्रको बहालीपछि उहाँ श्रम तथा यातायातमन्त्री हुनुभएको थियो । लेखक २०६४ सालको संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७० सालको दोस्रो संविधानसभामा कञ्चनपुरबाट प्रत्यक्ष निर्वाचित हुनुभयो । लेखक भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बन्नुभयो ।

पत्रकारिता र प्राध्यापनसमेत गर्नुभएका लेखक कानुन व्यवसायीका रुपमा क्रियाशील हुनुहुन्थ्यो । उहाँले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाउनुभएको छ ।

कानुनका ज्ञाता लेखकले संविधान तथा कानुन निर्माणमा विशेष भूमिका खेल्नुभएको थियो । नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन उहाँले पु¥याउनुभएको योगदान स्मरणीय छ । नेता लेखक नेपाल सरकारका तर्फबाट तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्ने टोलीका सदस्य हुनुहुन्थ्यो । गृहमन्त्री लेखकका ‘शाही शासनको एक वर्ष’, नामक पुस्तकसहित विभिन्न पत्रपत्रिकामा लेख तथा रचना प्रकाशित छन् ।

Share Now