Prakash Adhikari July 16, 2024

काठमाडौं, १ साउन । नेपालको शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। देशको अर्थतन्त्रको बागडोर सम्हाल्न शेयर बजारमा उदार विष्णु पौडेल आएपछि शेयर बजारका लगानीकर्तामा नयाँ आत्मविश्वास पलाएर आएको देखिएको छ ।

 

यस दिन नेप्से परिसूचक ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा पुगेको छ। यो पछिल्लो २६ महिनायताकै उच्च विन्दु हो। यस अघि २०७९ बैशाख २९ गते, नेप्से २३५०.४२ विन्दुमा बन्द भएको थियो। सोपश्चात इन्ट्राडेमा पनि नेप्सेले २३०० विन्दु छुा सकेको थिएन।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको १ लाख १९ हजार ११ पटकको कारोबारमा ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बरुण हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मन्दाकिनी हाइड्रोपावर, सिन्धु विकास बैंक र सिक्लेस हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जी, रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन ऋणपत्र र म्युचुअल फण्डहरुको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १८ करोड नाघेको छ भने अपि पावरको करिब १८ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.४५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

Share Now