कोलम्बो(श्रीलंका), ३ साउन । एसीसी महिला एसिया कप २०२४ का लागि श्रीलंकामा अभ्यासरत नेपाली महिला टोली भोलि हुने पहिलो खेलकोलागि तयार भएको छ ।
श्रीलंकाको दाम्बुल्लामा हुने एसिया कपमा सहभागी बन्न कप्तान इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय खेलाडी र अफिसियल सहितको नेपाली टोली अहिले श्रीलंकामा आएको छ ।
श्रीलंकामा यहाँको क्रिकेट बोर्डको महिला विकास स्क्वाडसंग खेलेको तीन वटा अभ्यास खेलमा नेपाल अन्तिम खेलमा विजयी भएको थियो ।
कप्तान इन्दु वर्माको नेतृत्वमा रहेको नेपाली टोलीमा रुविना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी रहेका छन् ।
समूह ए मा रहेको नेपालले अब पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।
समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा सिधै स्थान बनाउन सकेको थिएन ।
प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् ।
एशियन क्रिकेट काउन्सिलले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाललाई पनि समावेश गर्ने निर्णय गरेपछि यसपटक नेपाली चेलीहरुले एशिया कपमा खेल्न पाएका हुन् ।
यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हो । नेपालले यसअघि सन् २०१२ र २०१६ मा टी २० एसिया कप खेलेको थियो ।
यसपटकको एसिया कप पनि टी २० फम्र्याटमा नै हुँदैछ ।