Prakash Adhikari July 19, 2024

फुङ्लिङ (ताप्लेजुङ), ४ साउनः एक वर्षको अवधिमा २ लाख ३१ हजार ३ सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र २ हजार ७ सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा १ हजार १ सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा ५ हजार, असोजमा १० हजार ३ सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

 

पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार १ सय ६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ । समितिका अनुसार मङ्सिरमा २० हजार ४ सय १६, पुसमा ५ हजार ६ सय ५५ र माघमा ६ हजार ४ सय एकजनाले पूजापाठ गरेका छन् । त्यस्तै फागुनमा १७ हजार ९ सय १२ र चैतमा ५२ हजार ४ सय ५५ भक्तजनले पूजापाठ गरेका छन् । जेठमा ८ हजार ६ सय २९ र असारमा २ हजार ७ सय ५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ ।

३ हजार ७ सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि उक्त देवीथान पुगिन्छ ।

Share Now