कोलम्बो(श्रीलंका), ४ साउन । एसीसी महिला टी २० एसिया कपमा नेपाले विजयी सुरुआत गरेको छ ।
श्रीलंकाको दम्बुलामा शुक्रबार सम्पन्न खेलमा नोली चेलीहरुले यूएईमाथि ६ विकेटको शानदार विजय हासिल गरे ।
खेलमा टस जितेर फिल्डड. रोजका नेपाली चेलीहरुले यूएईले प्रस्तुत गरेको १ सय १६ रनको बलियो लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १७ औं ओभरमा पूरा गरे ।
नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गर्दै ७२ रनको योगदान दिइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् ।
करिअरको पहिला अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । उनले त्यसक्रममा ८ चौका प्रहार गर्दै नेपालको इनिङ सम्हालिन् ।
नेपालकी पूजा महतो ७ रनमा नटआउट रहिन् ।
नेपालका लागि सीता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु बर्माले ६ रन जोडे । रुविना १० रन जोडेर पेभेलियन फर्कीइन् ।
त्यसअघि नेपालले टस जितेर यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो । यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो ।
यूएईका लागि मध्यक्रमकी ब्याटर खुशी शर्माले ३६ रन जोडिन् । उनले ३९ बल खेल्दै २ चौका प्रहार गरिन् । कविशा एगोदागेले २२ रनको योगदान दिइन् । ओपनर इशा ओजा १० रन जोड्दै दोस्रो ओभरमा रनआउट भएपछि यूएई दबाबमा परेको थियो ।
तीर्था सतिशलाई ९ र रिनिथा रजिथ ६ रनमा आउट भएपनि यूएईको रन गति रोकिएन । १० ओभरमा ५७(४ को स्थितिमा रहेको यूएईले १ सय १५ रनको योगफल जोड्यो ।
यूएईलार्य रोक्ने क्रममा नेपालकी कप्तान इन्दु वर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले १-१ विकेट लिए ।
नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ । त्यसपछि मंगलबार समूहको अन्तिम खेलमा नेपाल र भारत खेल्नेछन् । प्रतियोगिताको सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुने भएको छ ।
यसअघि सन् २०१२ र २०१६ मा दुई पटक सहभागिता जनाएको नेपालले यसअघिका सबै ८ खेल हारेको थियो । एसिया कपको नवौं खेलमा पुगेर नेपालले पहिलो जित दर्ता गरेको छ ।


















