काठमाडौँ, ५ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पर्यटन मन्त्री बद्री पाण्डेले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा स्व श्रेष्ठले पुर् याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँको योगदान नेपालको पर्यटन क्षेत्रको इतिहासमा सदा अविस्मरणीय रहने बताउनुभयो । उहाँले स्व श्रेष्ठका परिवारजनप्रति समवेदनासमेत व्यक्त गर्नुभएको छ ।
श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । लामो समयदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहनुभएकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । स्व श्रेष्ठको आजै पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने उहाँको पारिवारीक स्रोतले जनाएको छ ।
पर्यटनमन्त्री पाण्डेद्वारा श्रद्धाञ्जली
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आज द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
आज बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा मन्त्री पाण्डेले दिवङ्गत श्रेष्ठको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पणगरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । सोही क्रममा मन्त्री पौडेलले द्वारिकाज होटलमा राखिएको शोक पुस्तिकामार्फत स्वर्गीय श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभयो ।
मन्त्री पाण्डेले स्वर्गीय अम्बिका श्रेष्ठका परिवारलाई समवेदना समेत प्रकट गर्नुभएको थियो । सोही अवसरमा मन्त्री पाण्डेले स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो ।
लामो समयदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहनु भएकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान करिब ८ बजे निधन भएको थियो । स्वर्गीय श्रेष्ठको आजै पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिने उहाँको परिवारले जनाएको छ ।


















