कोलम्बो(श्रीलंका), ६ साउन । श्रीलंकामा जारी एसीसी महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा आज नेपाली चेलीहरु पाकिस्तानसंग भिड्दै छन् ।
खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे दाम्बुलामा सुरु हुनेछ ।
प्रतियोगिताको उद्दघाटन खेलमा युएईलाई पराजित गरेको नेपाल पाकिस्तान विरुद्ध पनि त्यस्तै चमत्कारिक नतिजा निकाल्न उत्सुक छ ।
पहिलो खेलमा टस जितेर फिल्डिड. रोजेको नेपालले युएईले दिएकोे १ सय १६ रनको लक्ष्य १६.१ ओभरमा ४ विकेट मात्र गुमाएर हासिल गरेको थियो ।
पहिलो खेलमा नेपालकी सम्झना खड्काले संझन लायक प्रदर्शन गरिन । ओपनरको रुपमा मैदानमा उत्रिएकी उनले अविजित ७२ रन बनाएकी थिइन् । उनकै उत्कृष्ट इनिङको मद्दतमा नेपालले युएईलाई हराएको थियो ।
यो जित नेपालको एशिया कप इतिहासमा पहिलो जित रहेको थियो । यसअघि २०१२ र २०१६ मा गरी खेलेको दुई संस्करणमा नेपालले सबै खेलमा हार बेहोरेको थियो ।
पाकिस्तान पनि नेपालसंग दोस्रो खेल खेल्दै छ । श्रीलंकाको भूमिमा भएको भारत विरुद्धको पहिलो खेलमा पाकिस्तान पराजित भएको थियो । भारत विरुद्ध पाकिस्तान ७ विकेटले पराजित भएको थियो । पाकिस्तानले दिएको १ सय ९ रनको लक्ष्य भारतले १४.१ ओभरमै पुरा गरेको थियो ।
नेपालले आज विजय हासिल गरेको खण्डमा नेपालको अर्को चरणमा पुग्ने सम्भावना समेत बलियो बन्नेछ ।
नेपाल र पाकिस्तान भिड्नु अघि दिनको २ः१५ बजे नेपालकै समूह ए मा रहेका भारत र युएईबीच प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।


















