Prakash Adhikari July 21, 2024

काठमाडौँ, ६ साउनः प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ ।

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलदेखि स्वतन्त्र सांसदहरुलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ ।

सत्ता साझेदार अर्को ठूलो राजनीतिक दल नेपाली कांग्रेसको आज बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै पार्टीका सबै सांसद्लाई ह्विप जारी गर्ने दलका एक नेताले राससलाई जानकारी दिनुभयो ।

माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।

Share Now