काठमाडौं, ७ साउन । नेपाल भ्रमणमा रहेको रसियाली टोलीसंगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय भलिबल टोली पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार भएको खेलमा नेपाली टोली ३ ० को सोझो सेटमा पराजित भएको हो । खेलमा रसियाली टोली २५-१७,२५-१९, २५-१५ ले विजयी भएको हो ।
सुरुवाती दुई सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो । दोस्रो सेटमा नेपालले १६-१४ को अग्रतामा लिई सकेको थियो । तर त्यसलाई अन्त्यसम्म निरन्तरता दिन सकेन । दुई सेट पराजित भएपछि तेस्रो सेटमा प्रशिक्षकले दोस्रो रोजाइको खेलाडीलाई अवसर दिए ।
नेपालस्थित रसियाको दूतावासको विशेष पहलमा रसियाली टोली नेपाल आएको हो । नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण खेल आज पनि हुँदै छ ।
रसियाली टोली भलिबलमा उत्कृष्ट मानिन्छ । यही साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगको तयारीमा नेपाललाई मद्द पुग्ने भएकोले नेपालले रसियाली टोलीलाई आमन्त्रण गरेको हो ।
साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा हुने प्रतियोगितामा नेपालसहित ५ राष्ट्र सहभागी हुने भएका छन् । प्रतियोगितामा नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी हुने छन् ।
नेपालले रुससंगको मैत्रीपूर्ण खेल र काभा नेसन्स् लिग प्रतियोगिताका लागि दुई नयाँ खेलाडी समेट्दै १४ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
अरुणा शाहीको कप्तानी रहने नेपाली टिममा सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी रहेका छन् ।
रसियाको टोलीमा एमेलिना एन्जेलिना, अजनोभा अनास्तासिया, कोस्तिउकेभिच ओल्गा, क्रुक इना, लुबेन्चेन्को एना, सर्गीभा बार्बरा, स्लाउटिना नाटालिया, टिमोस्कोभा एकाटेरिना, बोलोदिना मिला, बासिना एलेना, जिनोबेबा एना र बाबेशिना मारिया रहेका छन् ।


















