वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका), ७ साउन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नुभएको छ।
उहाँले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्नुभएको छ।
हाल ८१ वर्षका बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो “पार्टी र देशको हितका लागि” आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको बताउनुभयो।
उहाँले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले “ठूलो सम्मानको रूपमा लिएको” र ज्यानुअरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।
गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटहरूबाटै उहाँको आलोचना भएको थियो।
उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताउनुभएको छ। हाल ५९ वर्षकी ह्यारिसले आफूले ट्रम्प विरुद्ध “देशलाई एकताबद्ध गर्ने” पनि बताउनुभयो ।
“निर्वाचनका लागि हामीसँग १ सय ७ दिन बाँकी छ”, उहाँले भन्नुभएको छ, “हामी सँगै लड्छौँ र सँगसँगै जित्छौँ पनि।”
पार्टीका महत्त्वपूर्ण व्यक्तित्वहरूले उहाँको मनोनयनलाई स्वीकार गरे पनि पार्टीबाट भने उहाँ आधिकारिक रूपमा उम्मेदवार बनिसक्नुभएको छैन। अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ।
ह्याइट हाउस पनि छाड्न बाइडनलाई चुनौती
डेमेक्र्याटिक पार्टीको प्रतिस्पर्धी ठानिएको रिपब्लिकनका तर्फबाट भने पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार चयन भइसक्नुभएको छ।
पेन्सिल्भेनियाको एक चुनावी सभामा गोली प्रहारबाट उहाँको हत्या प्रयास भएको पाँच दिन पछि रिपब्लिकन पार्टीले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको थियो।
बाइडनले चुनाव नलड्ने घोषणा गरेपछि प्रतिक्रिया जनाउँदै ट्रम्पले भन्नुभएको छ, “उहाँ चुनाव लड्नका लागि तन्दुरुस्त हुनुहुन्थेन‘ र काम गर्नका लागि पनि।”
रिपब्लिकन पार्टीका अन्य वरिष्ठ नेताहरूले पनि ट्रम्पले जस्तै बाइडनको आलोचना गरेका छन्। उनीहरूले पनि बाइडनलाई डेम्क्र्याटिक पार्टीको उम्मेदवारी त्यागेर मात्रै नपुग्ने भन्दै ह्वाइट हाउस पनि छाड्न भनेका छन्।


















