काठमाडौं, ८ साउन । नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा आजै बिजुली जोड्ने निर्णय गरेको छ।
आज बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले ३ महिनाभित्र बक्यौता बुझाउने शर्तमा लाइन जोड्ने निर्णय गरेको हो । बैठकमा सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखे पनि बाँकी सदस्य लाइन जोड्ने पक्षमा उभिएपछि समितिले उक्त निर्णय गरेको हो।
‘हिजोको छलफलअनुसार नै आजको निर्णय भएको हो’, एक सञ्चालकले भन्नुभयो, ‘कार्यकारी निर्देशक ९कुलमान० घिसिङले ३ महिनाको समय दिएर ६ उद्योगमा लाइन जोड्ने प्रस्ताव ल्याउनुभयो, त्यो बहुमतले पारित भयो।’
सोमबार बसेको सञ्चालक समिति बैठक निष्कर्षविहीन भएको थियो। सोमबार नै अर्को बैठक बस्ने भने पनि बसेको थिएन। यसबीचमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.ले अर्थमन्त्री विष्णु पौडेललाई पनि भेट्नुभएको थियो । उहाँले प्राधिकरणले अहिले निर्णयको प्रतिरक्षा गर्ने वचन दिएपछि उहाँ आश्वस्त हुनुभएको थियो ।
प्राधिकरणले असार २५ र २७ गते रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो।
उद्योगीहरुले यसविषयमा जानकारी गराएपछि साउन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई तत्काल काटिएका उद्योगको बिजुली जोड्न निर्देशन दिनुभएको थियो।
प्रधानमन्त्रीको निर्देशनलगत्तै बसेको सञ्चालक समितिको बैठकले लिखित निर्देशन नआएको भन्दै लाइन जोड्न नमानेपछि आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई उद्योगको लाइन जोड्न पत्र पठाएको थियो।
आइतबार संसदमा समेत प्रधानमन्त्री ओलीले बिजुली तत्काल जोडेर समस्याको समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो।
उद्योगी र प्राधिकरणबीच लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली उपभोग गरेको शुल्कबारे विवाद हुँदै आएको छ।
प्राधिकरणले यस्तो बक्यौता रकम ६ अर्ब ६० करोड रहेको जनाएको छ ।


















