Prakash Adhikari July 23, 2024

दाम्बुला(श्रीलंका), ८ साउन । एसीसी महिला टी २० एशिया कप २०२४ अन्तरगत समूह चरणको अन्तिम खेलमा भारतसंग फराकिलो रनअन्तरले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ ।

श्रीलंकाको दम्बुलास्थित क्रिकेट मैदानमा टस हारेर पहिले फिल्डिड.मा परेको नेपालले भारतबाट १ सय ७९ रनको विशाल लक्ष्य पाएको थियो । २० ओभरको निर्धारित खेलमा नेपालले ९ विकेटको क्षतिमा जम्मा ९६ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि सीता राना मगरले १८, विन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अङ्क पनि बनाउन सकेनन् ।

दोस्रो ओभरमा नै नेपालले ओपनर सम्झना खड्कालाई गुमाएको थियो । उनी ७ रन बनाएर अरुणधती रेड्डीको बलमा बोल्ड भएकी थिइन् । कविता कुँवर पनि ६ रन मात्र बनाएर पाँचौं ओभरमा रेणुका सिंहको शिकार बनिन् ।

कप्तान इन्दु वर्माले मध्यम सुरुवात पाएको थिइन् । तर १०औं ओभरमा उनलाई राधा यादवले शफाली वर्माको हातबाट क्याच आउट गराइन् । इन्दुले १८ बल खेल्दै १४ रन जोडेकी हुन् ।

ओपनर सीता राना मगरलाई अरुणधतीले ११औं ओभरमा बोल्ड गरिन् । सीताले आउट हुनुअघि २२ बलमा ३ चौका सहित १८ रन जोडिन् ।

१४औं ओभरमा दीप्ति शर्माले दुई विकेट लिन सफल भइन् । ऊ लिए रुबिना क्षेत्री र कविता जोशीलाई आउट गरेकी थिईन् । रुबिनाले १६ बलमा १५ रन बनाइन् । कविता भने शून्यमै आउट भइन् ।

पूजा महतो पनि २ रन मात्र जोड्न सफल रहिन् । १२ बल खेल्दै उनी १५औं ओभरको अन्तिम बलमा रनआउट भएकी थिइन् । डली भट्टले ५ रन बनाइन् ।

काजल श्रेष्ठलाई दीप्तिले अन्तिम ओभरमा ३ रन बनाएको अवस्थामा कट एण्ड बोल्ड आउट गरिन् । बिन्दु रावल १७ र सबनम राई १ रनमा अविजित रहे ।

नेपाललाई रोक्ने क्रममा भारतका दीप्ति शर्माले ३, राधा यादव र अरुणधती रेड्डीले समान २ २ तथा रेणुका सिंहले १ विकेट लिइन् ।

त्यसअघि दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो ।

भारतका लागि ओपनर शफाली वर्माले ४८ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ८१ रन बनाइन् । यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्का सहित ४७ रन जोडिन् ।

यस्तै जेमिमाह रोड्रिगेजले १५ बलमा ५ चौका सहित २८ रन बनाउँदै अविजित रहिन् । ऋचा घोष ६ रनमा नटआउट रहिन् । सजीवन सजनाले १० रन बनाएकी थिइन् ।

नेपालका लागि सिता राना मगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् ।

आजको हारसँगै नेपालले समूह ए मा २ अंक सहित प्रतियोगिता अन्त्य गरेको छ । नेपालले पहिलो खेलमा युएई विरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सो जित नेपालको एशिया कप इतिहासमा एकमात्र जित रहेको छ ।

भारत र पाकिस्तानसंग भएको खेलले नेपाली चेलीहरुलाई सिक्ने अवसर दिएको छ । नेपालको बलिड. र फिल्डिड.मा पनि सुधारको खाँचो देखिएको छ । ब्याटिड.लाई अझै परिस्कृत गर्नुपर्ने खाँचो छ । जसरी पुरुष राष्ट्रिय टोलीमा अन्तर्राष्ट्रिय ब्याटिड. र बलिड.का मुख्य प्रशिक्षक ल्याइने गरिएको छ, महिला टोलीका लागि पनि अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक राख्नुपर्ने टड्कारो आवश्यकता छ । खेल्न भने भारत र पाकिस्तानसंग खेल्नु पर्ने तर ती देशसंग आफैले सामना नगरेका प्रशिक्षकहरुबाट खेलाडीले कस्तो कला सिक्न सक्छन र ? महिला राष्ट्रिय टोलीका प्रशिक्षक प्रतिस्पर्धाबाट लिइएन भने खेलको स्तर सुध्रन धेरै कठिन हुने देखिन्छ ।

महिला एशिया कप २०२४ मा नेपाल रहेको समूहबाट भारत ६ अंक सहित समूह विजेता बनेको छ । पाकिस्तान ४ अंक सहित समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल २ अंकसहित र युएई शून्य अंकमा समूह चरणबाटै बाहिरिएका छन् ।

Share Now