ब्राम्पटन( क्यानडा), १२ (एजेन्सी) । ग्लोबल टी २० क्यानडा लिगको आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार बेहोरेको छ ।
क्यानडाको ब्राम्पटनस्थित सीएए सेन्टरमा शनिबार भान्कुवरलाई बंगाल टाईगर्स मिसिसौैगाले २२ रनले पराजित गर्यो ।
बंगाल टाइगर्स मिसिसौगाले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भान्कुवरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो ।
भान्कुवरका लागि हर्ष ठाकरले सर्वाधिक अविजित ७९ रन बनाए । उनलेले ६७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । डिवान प्रिटोरियसले २५ बलमा २९ रन बनाउँदा रिजा हेनरिक्सले १० रन जोडे।
नेपालका अलराउन्डर दीपेन्द्रले भने २ बलमा मात्र १ रन बनाए । सन्दीप २ रनमा अविजित रहे ।
बंगालका लागि कप्तान साकिब अल हसनले ३ तथा गुरपाल सिन्धु, डेबिड विजे र शरिफुल ईस्लामले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
बंगालका लागि इफ्तिखार अहमदले ४० बलमा ५० तथा हरजततुल्लाह जाजईले २८ बलमा ३३ रन बनाए । डिलान हेलिङ्गरले २७ र प्रगत सिंहले २० रन जोडे ।
भान्कुवरका लागि सन्दीपले २ विकेट लिए । उनले ४ ओभरमा ३२ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिएका थिए । लगातार दुई खेलमा पराजित भान्कुवर अंक बिहिन रहदै पाँचौ स्थानमा छ ।