दाम्बुला(,श्रीलंका), १ साउन(एजेन्सी) । श्रीलंकामा जारी नवौं संस्करणको एसीसी महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
साविक विजेता भारत र श्रीलंकाबीचको फाइनल खेल श्रीलंकाको दम्बुलामा रहेको रंगगिरी दम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
श्रीलंकालाई हराउँदै कीर्तिमानी आठौं पटक उपाधि जित्ने लक्ष्यमा भारत रहेको छ । श्रीलंका भने भारतलाई हराउँदै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।
गत संस्करणको फाइनलमा पनि श्रीलंकालाई ८ विकेटले हराउँदै भारत सातौं पटक च्याम्पियन बनेको थियो।
महिला एसिया कपको इतिहासमा भारत र श्रीलंकाबीचको फाइनलमा यो पाँचौ भेट हो ।
सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराउँदै भारतले फाइनलमा स्थान बनाएको थियो । श्रीलंकाले रोमान्चक सेमिफाइनल खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।
भारत र श्रीलंकाले अपराजित रुपमा फाइनलमा स्थान बनाएका हुन् । महिला एसिया कपमा भारत बाहेक बंगालादेश मात्र उपाधि जित्न सफल भएको छ।