दाम्बुला(श्रीलंका), १३ श्रावण( एजेन्सी) । साविक विजेता भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक एसिसी एसिया कपको च्याम्पियन बनेको छ ।
श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ रन बनाइन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाइन् । खेलमा कबिसा दिलहारीले अविजित ३० रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाइन् । स्मृतीले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् ।
रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् ।
श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् ।
भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक च्याम्पियन बनेको हो । यस पहिले भारत सात पटकको च्याम्पियन बनिसकेको छ।
महिला एसिया कपको इतिहासमा भारत दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि सन् २०१८ को एसिया कपको फाइनलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।


















