काठमाडौ १३ साउनः डुवाना लामा पेरिस ओलम्पिक– २०२४ आन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिरिएकी छन् । नेपाली पौडीबाज डुवानाले दुई सय मिटर फ्रि–स्टाइलमा निर्धारित दूरी पार गर्न २ मिनेट २०.४७ सेकेन्ड खर्चिइन् । सात खेलाडी भएको हिट वानमा डुवाना अन्तिम स्थानमा रहिन् ।
यससँगै तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा समाप्त भएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुम्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका थिए । वाइल्ड कार्डमार्फत डुवानाले पेरिस ओलम्पिकको यात्रा तय गरेकी हुन् । त्यस्तै अब ओलम्पिकमा जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र पौडीका एलेक्स शाहले आ आफ्नो खेल खेल्न बाँकी छ ।
ब्याडमिन्टनमा पराजय
काठमाडौँ, १३ साउन : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पेरिस ओलम्पिकमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा गए राति सम्पन्न खेलमा उनी २–० को सोझो सेटमा पराजित भएका हुन् ।
कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित चार खेलाडी छन् । अब प्रिन्सले सोमबार आयरल्याण्डका हात गुयेनसँग खेल्नेछन् भने यही साउन १६ गते इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन् ।
सात वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका प्रिन्सको लक्ष्य सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा पदक जित्नु हो ।
सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपाल ओलम्पिकमा सहभागी भएको हो । ब्याडमिन्टनमा नेपाल पहिलोपटक कोर्टमा उत्रिएकोको हो । प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका थिए । प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रूपमा सहयोग गरिरहेका छन् ।
भिक्टर टोकियो ओलम्पिक–२०२० का स्वर्ण विजेता तथा रियो दि जेनेरिया ओलम्पिक– २०१६ का कास्य विजेता हुन् । दुईपटकका विश्व च्याम्पियन बनिसकेका भिक्टर बिडब्लु टुरमा १८ पटक विजेता भएका छन् । ३० वर्षीय भिक्टरले छ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न सुरु गरेका थिए । टोकियो ओलम्पिकमा जितेको स्वर्ण रक्षा गर्नु उनको उद्देश्य रहेको छ ।
–––


















