पेरिस(फ्रान्स), १५ श्रावण । पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको दोस्रो चरणमा पुग्ने संभावना कमजोर भएको छ। उनी दोस्रो खेलमा आयरल्याण्डका नहाट एन्ग्वेनसंग सोझो सेटमा पराजित भएका छन् ।
विश्व वरियतान ४३औं स्थानमा रहेका एन्ग्वेन विरुद्ध प्रिन्सको प्रदर्शन राम्रो रहेन । प्रिन्स २१(७ र २१(५ स्कोर सहित सोझो सेटमा पराजित भएका हुन् । प्रिन्स पहिलो खेलमा विश्व नम्बर २ भिक्टर एक्सेलसन विरुद्ध २१(८ र २१(६ ले पराजित भएका थिए ।
प्रिन्सले अब समूह चरणको अन्तिम खेलमा इजरायलका मिशा जिलबरमन विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । समूह विजेता मात्र अर्को चरणमा प्रवेश गर्ने हुँदा प्रिन्स भने समूह चरणबाटै बाहिरिने लगभग पक्का भएको छ ।
यसअघि नेपाललाई प्रतिनिधित्व गर्दै ६ खेल ६ खेलका लागि पेरिस पुगेका ७ खेलाडी मध्य ४ खेलाडी बाहिरिसकेका छन् । टेबल टेनिसका स्यान्टू श्रेष्ठ, पौडीकी डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ प्रधान र शूटिंगकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका हुन् ।
पौडीका एलेक्स शाह र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न भने बाँकी रहेको छ ।


















