काठमाडौँ, १७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ ।
एमालेको बिहिबार बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।
यस्तै, मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरिएको छ । बैकठले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र नेतृत्व जिम्मेवारी दिइएको छ । एमालेको आजको सचिवालय बैठकले सबै नेताहरुको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी प्रदान गरेको हो ।
बैठकमा अध्यक्ष ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नुभयो । उहाँले बैठकलाई सम्वोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षा अनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भूमिका विषयमा प्रकाश पार्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
यस्तै बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख तथा नीति तथा योजना सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश तथा स्थानिय तह समन्वयको संयोजन, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय र सामाजिक विकास सम्वद्ध विभागको संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षाको संयोजनको जिम्मेवारी तोकिएको छ ।
यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको सङ्गठनात्मक कामको अनुगमनको र पार्टी सम्वद्ध विभागहरुको संयोजन, उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेलाई राजकीय मामिला तथा पूर्वाधार तथा विकास सम्वद्ध विभागहरुको संयोजन र उपाध्यक्ष गुरु बराललाई संसदीय मामलाको संयोजन, सुशासन र सेवाप्रवाह सम्वद्ध विभागहरुको जिम्मेवारी तोकिएको छ ।
पार्टी महासचिव शङ्कर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन, उपमहासचिव प्रदीप ज्ञवालीलाई पार्टी स्कुल विभागको प्रमुख, उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी तोकिएको प्रचार विभाग गौतमले जानकारी दिनुभयो ।
सचिवहरु गोकर्णराज विष्टलाई भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुख, योगेश भट्टराईलाई संसदीय विभाग प्रमुख, रघुवीर महासेठलाई परराष्ट्र मामिला विभाग प्रमुख, छविलाल विश्वकर्मालाई स्थानीय विकास विभाग प्रमुख जिम्मेवारी दिइएको छ ।
यस्तै सचिव लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज र अर्का सचिव पद्मा अर्याललाई लुम्बिनी प्रदेशको इन्चार्ज तोकिएको छ । बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन गर्नुको साथै अनुशासन आयोग र सल्लाहकार परिषद्मा पनि मनोनयन गरेको एमाले प्रचार विभाग प्रमुख गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज, जनवर्गीय सङ्गठनको इन्चार्ज, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्ज तोकिएको छ ।
१७ जना केन्द्रीय सदस्यमा मनोनीत
महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुवास कर्माचार्य ( सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहनुभएको छ ।
यस्तै, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहनुभएको छ ।
प्रदेश इन्चार्ज हेरफेर
यस्तै, एमालेले प्रदेश इन्चार्ज हेरफेर गरेको छ ।
महासचिव पोखरेलका अनुसार शेरधन राईलाई कोशी प्रदेश, लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश, डा राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखनाथ भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छ ।
यस्तै, बैठकले निर्वाचन आयोग र सल्लाहकार परिषद्मा पनि मनोनीत गरेको छ ।